अब अनलाइनबाटै जागिर र जनशक्ति खोज्न मिल्ने, ‘हायर मि’ले शुरु गर्यो सेवा
काठमाडौं । अब अनलाइनबाटै जागिर र जनशक्ति खोज्न मिल्ने अनलाइन सेवा ‘हायर मि’ सञ्चालनमा आएको छ ।
कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईका अनुसार अब जागिर खोज्न र कम्पनीहरुले जनशक्ति खोज्नका लागि महंगो विज्ञापन गर्नुनपर्ने भएको छ ।
‘हालसम्म विज्ञापन गरेर तथा हेरेर कर्मचारी खोज्ने रोजगारदाताको समस्या र जागिरका लागि विज्ञापन हेरेर रोजगारदाता कम्पनी धाउनु पर्ने समस्या हटेको छ,’ भट्टराईले भने ।
जागिरको खाजीमा रहेका तथा दक्ष जनशक्तिका खोजीमा रहेका कम्पनीलाई सहयोग गर्ने उद्देश्यले नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजले ‘हायर मी नेपाल’ कार्यक्रम शुरु गरेको हो ।
कोरोना संक्रमण र लामो समयको लकडाउनको कारण लाखौँ मानिस बेरोजगार भइरहेकाले उनीहरुलाई जागिर र जनशक्ति खोज्न सहज होस भन्ने उद्देश्यले सेवा शुरु गरेको कम्पनीले जानकारी दिएको छ ।
उद्योग व्यवसाय बन्द भएका कारण तथा विदेशबाट बेरोजगार भई फर्केका समेत गरी न्यूनतम पच्चीस लाख मानिसलाई रोजगारी दिनु पर्ने चुनौती आइपरेको बेलामा उक्त कार्यक्रमको थालनी गरिएको अध्यक्ष भट्टराईको भनाइ छ ।
सरकारले आ.व. २०७७÷७८ मा स्थानीय स्तरमा रोजगार सेवा केन्द्र स्थापना गर्ने र सो कार्यलाई सहजीकरण गर्न ल्याएको ‘श्रम सूचना बैंक’को अवधारणामा काम गर्ने गरी निजी स्तरबाट हायर मी नेपाल प्रारम्भ गरिएको हो ।
हायर मी नेपाल डट कम वेवसाइटले रोजगारदाता कम्पनी, उद्योग, संस्था तथा रोजगार हुन चाहने जो सुकैले आफूलाई छुट्टै पासवर्ड लिएर रजिष्टर्ड गराउन सक्ने छन् । चाहिएको जनशक्ति खोज्ने, सम्पर्क गर्ने, च्याटको माध्यमले अन्तर्वार्ता गरी नियुक्ति लिन दिन समेत सकिने गरी सफ्टवेयर बनाइएको छ ।
यो सेवा अहिलेलाई पूर्णतः निशुल्क हुने कम्पनीले जानकारी दिएको छ । साइटको मोबाइल एप्लिकेशन समेत प्रयोगमा ल्याउने तयारी भइरहेको छ । दुई वर्षभित्र ५० लाख संस्था र व्यक्तिलाई यो वेवसाइटमा रजिष्टर्ड गराई न्यूनतम ५० हजारलाई रोजगारी दिलाउने कार्यक्रमको लक्ष्य छ ।