भृकुटिमण्डपमा मेगा हल बनाइने, ‘मास्टर प्लान’ पेश गर्न आह्वान



काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ अर्ब रुपैयाँमा अत्याधुनिक मेगा हल निर्माणका लागि मास्टर प्लान तयार पार्ने प्रक्रिया शुरु गरेको छ ।

महानगरले तय गरेको बजेट तथा कार्यक्रममा समाज कल्याण परिषदले काठमाडौंको भृकुटिमण्डपमा सञ्चालन गरिरहेका कार्यालय आसपासमा २१४ रोपनी क्षेत्रफलमा भवन निर्माण गर्ने भएको छ ।

त्यसका लागि परिषदले गुरुयोजना तयार गर्नका लागि प्राविधिक तथा आर्थिक प्रस्तावको गोप्य आशयपत्र आह्वानका लागि सूचना प्रकाशित गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ स्थित पूर्वमा टुकुचा खोला, दक्षिणमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाम घर, पश्चिममा भद्राकाली जाने सडक र उत्तरमा प्रदर्शनीमार्गलाई चार किल्ला तोकिएको छ ।

सो क्षेत्रभित्र सुन्दर, आकर्षण एमव् अन्तर्राष्ट्रिय स्तरको मेगा हल निर्माण गरिनेछ ।

उपत्यकाको बास्तुकलालाई समेत ध्यानमा राखेर निर्माण गरिने मेगाहलको प्रस्तावित डिजाइन तयार भैसकेको छ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले मेगाहलको प्रस्तावित डिजाइन तयार पारेको हो ।

१ लाख १४ हजार वर्गमिटर भन्दा केही बढीको पाँचतले मेगा हल निर्माणका लागि प्रस्तावित डिजाइन तयार भैसकेको छ । २ सय १४ रोपनी क्षेत्रफलमध्ये करीब ६० प्रतिशतमा हरियाली बगैँचा रहने छ भने ४० प्रतिशत स्थानमा मेगा हल निर्माण हुनेछ ।

मेगा हल निर्माण गर्दा खुला क्षेत्र र हरियालीलाई प्राथमिकता दिएर डिजाइन तयार पारिनेछ ।

उक्त भवनका दुई तलामा १ हजार कार अटाउने पार्किङ हुनेछ भने २ सय जना अटाउने ६ ओटा मिटिङ हल, ४ सय ५० जना अटाउने ३ ओटा कन्फरेन्स हल र तीन हजार अटाउने अडिटोरियम हल एउटा रहने छ । यो मेगा हलमा २२ ओटा लिफ्ट र १२ ओटा एस्कालेटर रहने छन् ।

ट्राफिक व्यवस्थापनलाई समेत ध्यानमा दीर्घकालिन र अल्पकालिन सोँचसहित मेगाहलको डिजाइन तयार पारिएको छ । डिजाइनमा चार स्थानबाट प्रवेश र दुई स्थानबाट निकासद्वारको व्यवस्था गरिएको छ ।

पहिलो चरणमा साल्टट्रेडिङ, भद्रकाली र भृकुटी मण्डपबाट प्रवेशको व्यवस्था हुनेछ । धरहरा निर्माण सम्पन्नपछि धरहराबाट सिधै टुँडिखेलबाट अन्डरपाससहित मेगा हल प्रवेश गराउने गरी डिजाइन तयार पारिएको छ ।


क्लिकमान्डु