अर्थमन्त्रालयद्वारा ११७१ गुणासम्म रकमान्तर, असारमा मात्रै ९७ अर्ब ७० करोड



काठमाडौं । अर्थमन्त्रालयले नियम विपरीत आर्थिक वर्ष २०७५/७६ को असार महिनामा मात्रै ९७ अर्ब ७० करोड रुपैयाँ रकमान्तर गरेको पाइएको छ ।

कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँमध्ये वर्ष भरीमा रकमान्तर ३ खर्ब ५४ अर्ब ८६ करोड रुपैयाँमध्ये आसार महिनामा मात्रै ९७ अर्ब ७० करोड रुपैयाँ रकमान्तर गरेको हो ।

जसमध्ये असार २५ गतेपछि ३२ अर्ब ५० करोड रुपैयाँ रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा रकम थप गरेको महालेखा परीक्षकको ५७औं प्रतिवेदनमा उल्लेख छ ।

विनियोजन ऐन, २०७५ अनुसार कुनै पनि शीर्षकमा विनियोजन भएको रकमको १० प्रतिशतभन्दा बढी रकमान्तर गर्न नपाइने उल्लेख छ ।

‘तर अर्थमन्त्रालयले सो व्यवस्था विपरीत संघीय संसदमा ११७१ गुणासम्म रकमान्तर गरी विनियोजन ऐनको प्रावधानको पालना गरेको देखिएन । रकमान्तर बर्षान्तमा बढी हुने गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० मा विनियोजन ऐनमा तोकिएको कुनै एक अनुदान संकेत अन्तर्गतको बजेट उपशीर्षकमा रकम नपुग भएमा सोही ऐनमा तोकिएको कुनै एक वा एक भन्दा बढी अनुदान संकेतबाट विनियोजन ऐनको सीमाभित्र रही अर्थमन्त्रालयले रकमान्तर गर्न सक्नेछ नियम छ ।

आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३५ अनुसार रकम स्वीकृत बजेटबाट मात्र खर्च गर्न मिल्ने व्यवस्था विपरीत शुरुमा बजेट व्यवस्था नगरी रकमान्तरबाट रु.४१ करोड ६९ लाख खर्च गरेको छ प्रतिवेदनमा उल्लेख छ ।

 


क्लिकमान्डु