सबै म्यूचुअल फण्डलाई करको दायरामा ल्याउनुः महालेखापरीक्षक



काठमाडौं । महालेखापरीक्षकले सबै म्यूचुअल फण्डलाई करको दायरामा ल्याई कर असुल गर्न सरकारलाई निर्देशन दिएको छ । महालेखाको ५७ औं बार्षिक प्रतिवेदनले यस्तो निर्देशन दिएको हो ।

नेपालमा हाल १७ वटा सामुहिक लगानी फण्ड रहेको र यस्ता निकायहरुले व्यवस्थापन शुल्क लिई म्युचुअल फण्ड व्यवस्थापकको रुपमा स्कीम सञ्चालन गरेको उल्लेख छ । सामुहिक लगानीमध्ये नमूना परीक्षणको आधारमा परीक्षण गर्दा ४ म्युचुअल फण्डले ४३ करोड १ लाख नाफा कमाएको र सबै म्युचुअल फण्डलाई करको दायरामा ल्याई कर असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

म्युचुअल फण्ड आयकर ऐन, २०५८ को दफा २(ड)(३) मा “कम्पनी” भन्नाले कर प्रयोजनको लागि प्रचलित कानुन बमोजिम दर्ता भए वा नभएको युनिट ट्रष्ट समेतलाई कम्पनी सरह व्यवहार गरिने उल्लेख छ ।

ऐनको अनुसूची १ को दफा १(२) अनुसार वित्तीय संस्था वा यस्ता निकायको करयोग्य आयमा ३० प्रतिशत कर लाग्ने व्यवस्था छ । त्यस्तै दफा ८८(४)(ङ) अनुसार सामुहिक लगानी कोषमा अग्रीम कर कट्टा गर्नु नपर्ने व्यवस्था गरेतापनि त्यस्ता निकायलाई कर छुट हुने देखिँदैन । सामुहिक लगानी (म्युचुअल फण्ड) को आयलाई ऐनको दफा १० अनुसार कर छुट नदिएको प्रतिवेदनमा उल्लेख छ ।


क्लिकमान्डु