महालेखा परीक्षकको प्रतिवेदनः सेयर लगानीकर्ताले ७० करोड रुपैयाँ कर छले



काठमाडौं । महालेखापरीक्षकको ५७ औं बार्षिक प्रतिवेदनले सेयर लगानीकर्ताले कर छलेको देखाएको छ ।

सेयर लगानीकर्ता आफैले भारित औसत लागतको गणना गर्दा ७० करोड ७९ लाख रुपैयाँ कर कम असुल हुने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

आधारबेगर लागत घोषणा गराउने व्यवस्था उपयुक्त नभएको भन्दै यथार्थ औसत लागतको आधारमा लागत गणना हुने व्यवस्था गर्न निर्देशन दिएको छ ।

आयकर ऐन, २०५८ को दफा ९५ क (२क) मा उपदफा २ को खण्ड (क) बमोजिम लाभ गणना गर्दा जुन निकायको हित निसर्ग हुने हो त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औसत लागतको आधारमा गर्नुपर्ने व्यवस्था थप गरेको स्मरण गराएको छ ।
विगत वर्षहरुमा लागत मूल्य बढी दाबीको कारणले कर असुल गर्न छुट भएको व्यहोरा प्रतिवेदनमा उल्लेख गरेपछि भारित औसत लागतसम्बन्धी व्यवस्था भए तापनि कार्यान्वयन पक्षमा सुधार भएको नभएको महालेखाको प्रतिवेदनमा रहेको छ ।

कानुन बमोजिम दर्ता भई धितोपत्रको खरिद बिक्रीको फरफारक गर्न स्थापित सिडिएस एण्ड क्लियरिंग लिमिटेडले उल्लिखित उपदफा २ क बमोजिमको भारित औसत लागत गणनाका लागि मेरो सेयर एप्लीकेशन प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रणालीको औसत लागत स्वीकार्य नभएमा प्रमाणका आधारमा सेयरधनी आफैँले मूल्य राख्न पाउने गरी प्रयोगकर्तालाई सुविधा दिएको छ । उक्त सुविधा अनुसार प्रयोगकर्ताले प्रणालीमा देखाएको डिम्याट, वोनस सेयर, आईपीओ र हकप्रद सेयरको मूल्यभन्दा बढी लागत उल्लेख गरेको कारण सिष्टमले देखाएको भन्दा बढी लागत १४ अर्ब १५ करोड ७६ लाख उल्लेख भएको प्रतिवेदनले देखाएको छ ।


क्लिकमान्डु