पुनरकर्जाको फाइदा अहिलेसम्म ठूला व्यवसायीलाई, १४४ जना व्यवसायीले लिए १५ अर्ब ९५ करोड



काठमाडौं । सरकारले दिएको पुनरकर्जा कोषबाट १४२ जना व्यवसायीले १५ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ कर्जा लिएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा २१ वटा वाणिज्य बैंकमार्फत् व्यवसायीक फार्मले पुनरकर्जा लिएको हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आवको साउनदेखि चैत महिनासम्म साधारण र निर्यात पुनरकर्जा उपयोग गर्ने ऋणीहरुको नामावली सार्वजनिक गरेको छ । जसमा १ सय ३२ वटा उद्योग, व्यवसायीक फार्मले साधारण १५ अर्ब २१ करोड रुपैयाँ पुनरकर्जा उपयोग गरेका छन्, भने १० वटा व्यवसायीक फार्मले ७४ करोड ४४ लाख रुपैयाँ निर्यात पुनरकर्जा लिएका राष्ट्र बैंकले जनाएको छ ।

सरकारले आव २०७६/७७ मा ६० अर्बको पुनरकर्जा कोषको व्यवस्था गरेको थियो । जसमा नेपाल राष्ट्र बैंकले सो कोषबाट सहुलियत दरमा बैंकहरुलाई ऋणको व्यवस्था गरेको हो ।

राष्ट्र बैंकबाट बैंकहरुले प्रतिशतमा साधारण ३ प्रतिशत र निर्यात १ प्रतिशतमा पुनरकर्जा लिएर उद्योग, व्यवसायीक फार्मलाई साधारण ५ प्रतिशत र निर्यात ३ प्रतिशतमा पुनरकर्जा वितरण गरेका हुन् ।

उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गरिदै आएको पुनरकर्जा २०७६ चैत मसान्तसम्म १८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । जसमा साधारण पुनरकर्जा १५ अर्ब २१ करोड रुपैयाँ र निर्यात पुनरकर्जा ७४ करोड ४४ लाख रुपैयाँ उपयोग भएको राष्ट्र बैंकले जनाएको छ । कुल पुनरकर्जा मध्ये भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ चैत मसान्तमा १ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।

बजेट मार्फत सरकारले पुनरकर्जा कोषलाई एक खर्बको बनाउने उल्लेख गरेको छ ।

पुनरकर्जा लिने व्यवसायको विवरण


क्लिकमान्डु