दोहोरो अंकको सुधारसँगै सकियो चालु आवको सेयर कारोबार, १ वर्षमा १०३ अंकको सुधार



काठमाडौं । चालु आर्थिक वर्ष २०७६/०७७ को अन्तिम दिन बुधबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ ।

यस्तै गत आर्थिक वर्षको अन्तिम दिनको तुलनामा चालु आवको अन्तिम दिन सेयर बजारमा केही सुधार देखिएको छ । गत आवको अन्तिम दिने नेप्से परिसूचक १२५९.०१ बिन्दुमा रहेको थियो । चालु आवको अन्तिम दिन १३६२.३४ बिन्दुमा रहेको छ । एक वर्षको अवधिमा बजारमा १०३.३३ अंकको सुधार देखिएको छ ।

यो वर्षको सेयर कारोबारमा निकै उतार चढाव आयो । लकडाउनको कारण विश्वमा नै पहिलो पटक ९७ दिन नेपालको पुँजी बजार बन्द पनि भयो । त्यसपछि खुलेको बजार सामान्य गतिमा नै चलेको छ ।

अहिलेको कारोबारलाई सेयर बजारको बिउटिको रुपमा पनि लिने गरेका छन् । केही दिन अघिसम्म धेरै नै उतार चढाव हुने गरेको भएपनि अहिले बजार लयमा फर्किसकेको देखिएको छ ।

बुधबार बजार मापन गर्ने नेप्से सूचक १४.९० अंकले बढेर परिसूचक १३६२.३४ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.०६ अंकले बढेर २८८.२४ बिन्दुमा रोकिएको छ ।

१८९ कम्पनीको ३२ लाख १२ हजार ९२४ कित्ता सेयर १ अर्ब १६ करोड ४ लाख ९१ हजार ५२२ रुपैयाँको सेयर किनबेच भएको छ ।

बैंकिङ समूहको उपसूचक २४.३८, विकास बैंक ६.९२, निर्जीबन बीमा ८.९१, अन्य समूहको उपसूचक १०.७३ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको १० करोड ४० लाख २५ हजार ५७९ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः पुनर्बीमा कम्पनी र एनमएबी बैंक रहेका छन् ।


क्लिकमान्डु