कोरोनाका कारण होटल हायात र र्याडिसनको नाफा घट्यो
काठमाडौं । कोरोना महामारीका कारण पछिल्लो दिनमा पाँचतारे होटलहरुको नाफामा गिरावट आएको छ ।
बुधबार प्रकाशित तारागाउँ रिजेन्सी होटल्स लिमिटेड ‘हायात’ र ओरियन्टल होटल लिमिटेड ‘र्याडिसन’ होटलको नाफा घटेको हो । आर्थिक वर्ष २०७६÷७७ को तेस्रो त्रैमास चैतसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा गिरावट आएको देखाएको छ ।
चावहिल चुच्चेपाटीमा सञ्चालित होटल हायातले चालु आवको त्रैमासमा कुल ५७ करोड ८६ लाख १४ हजार २४५ नाफा गरेको छ । जबकी होटलले गत आवको सोही अवधिमा ७५ करोड २ लाख ३४ हजार ६४४ नाफा गरेको थियो ।
होटलले सार्वजनिक गरेको विवरण अनुसार कर्मचारीलाई बोनस र सरकारलाई कर बुझाएपछि प्राप्त हुने नाफा भने झनै न्यून रहेको छ । होटलले चालु आवको चैत मसान्तसम्मको अवधिमा २५ करोड ७८ लाख १ हजार ५२६ रुपैयाँ मात्रै नाफा गरेको देखिन्छ । जबकी गत आवको सोही अवधिमा होटलले ३५ करोड ६५ लाख ७६ हजार ३७४ रुपैयाँ नाफा गरेको थियो ।
त्यसैगरी लाजिम्पाटस्थित होटल र्याडिसनको नाफामा पनि गिरावट देखिएको छ । चालु आवको चैत मसान्तसम्म होटलले ११ करोड ४६ लाख ९६ हजार ५५६ रुपैयाँ नाफा कमाएको छ । जबकी गत आवको सोही अवधिमा होटलले २० करोड ७४ लाख ५५ हजार ६७७ रुपैयाँ नाफा कमाएको थियो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण गत माघ महिनादेखि नै पर्यटकको आगमनमा कमी आएको थियो । सरकारले चैत महिनादेखि लकडाउन गरेका कारण होटलको नाफामा चालु आवको अन्त्यसम्ममा झनै गिरावट आउने देखिएको छ ।
चैतसम्म नै नाफामा भारी गिरावट भोगेका होटलहरुले त्यसयता लकडाउनका कारण होटल सञ्चालन गर्न पाएका छैनन् । साथै अन्तर्राष्ट्रिय हवाई उडान समेत अनिश्चित भएका कारणले होटलहरुको नाफामा आगामी केही महिनासम्म संकुचन आउने देखिएको छ ।
विषम चुनौतीको सामना गर्दै होटललाई हुन सक्ने सम्भावित हानी नोक्सानी कम गर्नका लागि व्यवस्थापन चनाखो तथा प्रतिबद्ध हुनुपर्ने, पुराना ग्राहक विस्थापित हुन नदिने र नयाँ ग्राहकको खोजी गर्नुपर्ने देखिएको छ ।
अचानक रुपमा आइपर्ने असहज परिस्थिति, प्राकृतिक तथा दैवीप्रकोप, विदेशी मुद्राको विनिमय दरमा हुने उतारचढाव, पर्यटन भौतिक पूर्वाधारको विकासको कमी, पर्यटन उद्योगमा देखिने औद्योगिक अशान्ति, आन्तरिक पर्यटन प्रबद्र्धनको कमी, पर्यटकीय सार्वजनिक यातायातको अभाव र अन्तर्राष्ट्रिय हवाई सिट क्षमतामा न्यनूनताबाट पर्ने अप्रत्यक्ष वा प्रत्यक्ष प्रभाव आगामी चुनौतीका रुपमा देखिएको छ ।