१९ वटा एयरलाइन्ससहित ९४ कम्पनीले तिरेनन् विमानस्थलको सवा करोड वक्यौता



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य उडान गर्ने १९ वटा विमान कम्पनीसहित ९४ वटा कम्पनीले अन्तर्राष्ट्रिय÷आन्तरिक टर्मिनल भवनको भाडामा लिएका कोठा पसललगायतका स्थानको बुझाउनुपर्ने वक्यौता बुझाएका छैनन् ।

नागरिक उड्डयन प्राधिकरण नेपालले तत्कालिन हवाई विभागतर्फको बेरुजु वक्यौता हालसम्म नबुझाएको पाइएको जनाएको छ । प्राधिकरणले तत्कालिन एभरेष्ट एयर, नेकोन एयर, नेपाल एयरवेज, गोरखा एयरलाइन्स, लुम्बिनी एयर, कस्मिर एयर, हिमालयन हेलिकोप्टर, गरुड एयर, एशियन एयरलाइन्स, कर्णाली एयरवेज, लुम्बिनी एयरवेज, डाइनेष्टी एभिएसन, इण्डियन एयरलाइन्स, थाई एयरलाइन्स, विमान बंगलादेश, सिंगापुर एयर, चाइना एयर, अष्ट्रियन एयरलाइन्स, बर्मा एयरलाइन्सलगायतले बक्यौता नतिरेको पाइएको छ ।

ती मध्ये अधिकाशं नेपाली हवाई सेवा प्रदायक कम्पनी बन्द भइसकेका छन् । कम्पनी बन्द भएपनि उनीहरुले तिर्नुपर्ने बक्यौता नतिरी सम्पर्कविहिन भएपछि प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत तत्काल वक्यौता तिर्न आउन भनेको हो ।

विभिन्न व्यवसायी तथा ठेकेदारले समेत सरकारी बक्यौता नतिरी बेपत्ता भएका छन् । सरकारी स्रोतको प्रयोग गर्ने र त्यस वापत कुनै पनि रकम नतिरी बेपत्ता भएका कम्पनी तथा ठेकेदारलाई आफूले बुझाउनुपर्ने रकम नबुझाई कानूनको बर्खीलाप गरेको पाइएमा कानून अनुसार कारवाही हुने जनाएको छ ।

प्राधिकरणले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र बाँकी बक्यौता तिर्न नआएको खण्डमा सरकारी बाँकी बक्यौता बमोजिम कारवाही हुने छ । प्राधिकरणले असुल गर्नुपर्ने बेरुजु तिर्नु पर्ने कम्पनी, फर्म, व्यक्ति, कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ ।


क्लिकमान्डु