बैंकमा ऋणको माग आउन छाडेपछि पैसा थुप्रियो



काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूमा लगानीयोग्य रकम उल्लेख्य रूपमा बढेको छ । तर कर्जा प्रवाह भने घट्दो छ । लकडाउनमा दिनहुँ बैंकहरुमा निक्षेप थपिनेक्रम बढिरहेको हो । तर निक्षेप बढ्दा कर्जा विस्तार भने क्रमिकरुपमा सुस्ताएको छ ।

सरकारले गरेको लकडाउनको ४ महिनाको अवधिमा निक्षेप १ खर्ब ९९ अर्ब रुपैयाँले बढ्दा कर्जा लगानी भने यो अवधिमा ४ अर्ब रुपैयाँले घटेको छ । बैंकर्स संघको तथ्यांकअनुसार असार २६ गतेसम्म बैंकहरुमा ३३ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन छ भने २८ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन कर्जा प्रवाहभन्दा निक्षेप संकलन भन्दा ५ खर्ब ४७ अर्ब रुपैयाँ बढी हो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेबाट लकडाउन गरेको छ । चैत मसान्तसम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमा ३१ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप थियो । जुन असार २६ गतेसम्म १ खर्ब ९९ अर्ब रुपैयाँले बढेर ३३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ ।

संघद्वारा उपलब्द्ध तथ्यांकअनुसार बैंकहरुमा निक्षेप प्रत्येक महिना अर्बौ रुपैयाँले बढिरहेको छ । चैत मसान्तसम्म बैंकहरुमा चैतको तुलनामा निक्षेप बैशाखमसान्तसम्म २५ अर्ब रुपैयाँले बढेर ३२ खर्ब १४ अर्ब रुपैयाँ पुगेको थियो भने जेठ मसान्तसम्ममा चैत मसान्तको तुलनामा निक्षेप ८७ अर्ब रुपैयाँले बढेर ३२ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको थियो । साथै चैत मसान्तको तुलनामा असार २६ गतेसम्म बैंकहरुमा निक्षेप १ खर्ब ९९ अर्ब रुपैयाँले बढेर ३३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

चैत्र मसान्तदेखि असारको अन्तिम सातासम्मको तथ्यांक हेर्ने हो भने सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमा निक्षेप संकलन मासिक रुपमा बढ्दा कर्जा लगानी भने चैत मसान्तदेखि असारको तेस्रो सातासम्म ४ अर्ब रुपैयाँले घटेको छ ।

चैत मसान्तसम्म बैंकहरुले २८ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । जुन बैशाख महिनामात्र ९ अर्ब रुपैयाँले घटेर बैशाख मसान्तमा २८ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरी, बैंकहरुको कर्जा लगानी चैत मसान्तको तुलनामा जेठ मसान्तमा २९ अर्ब रुपैयाँ घटेको थियो । जेठ मसान्तसम्म २८ खर्ब १६ अर्ब रुपैयाा मात्र कर्जा लगानी गर्न सकेका हुन् ।

साथै, असारको तेस्रो सातासम्म बैंकहरुको कर्जा लगानी चैत मसान्तको तुलनामा ४ अर्ब रुपैयाँले घटेको छ । चैत मसान्तसम्म बैंकहरुको कर्जा लगानी २८ खर्ब ४५ अर्ब रुपैयाँ थियो जुन ४ अर्ब रुपैयाँले घटेर २८ खर्ब ४२ अर्ब रुपैयाँमा सीमित भएको बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

लकडाउन सुरु भएसँगै बैंकमा पैसा जम्मा गर्ने बढेपनि त्यसको विपरीत आर्थिक क्रियाकलाप रोकिदाँ कर्जा लिनको ग्राहक भने घटिरहेको छ । बैंकमा अधिक तरलता देखिएपनि बैंकहरुले निक्षेपको ब्याजदरमा गरेको भद्र सहमतिलाई समेत खारेज गरेका छन् ।


क्लिकमान्डु