मौद्रिक नीतिमा सुझाव दिँदै बाबुराम भट्टराईले भने- रेमिट्यान्सको पैसा जग्गा दलालीमा गयो



काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको मौद्रिक नीति आँटै गरेर नयाँ कार्यक्रमसहितको आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको अर्थसमितिको सोमबारको बैठकमा उनले आगामी आवको बजेटले छाडेका विषय मात्रै नभई मौद्रिक नीतिमा नयाँ योजना र कार्यक्रम समेत समावेश हुनुपर्ने बताए ।

‘बजेटले छाडेका विषयले मात्रैले पुग्दैन, प्रस्तुत भएको विवरणमा संकेत भएका विषयले मात्रै हुँदैन, टेकअफ गर्ने नीति चाहियो,’ उनले भने ।

भट्टराईले केन्द्रीय बैंकका तर्फबाट प्रस्तुत भएको ४२ बुँदामा गरिएको संकेतले मात्रै नपुग्ने बताए । उनले विदेशबाट प्राप्त हुने र नेपाली युवाले पठाएको बिप्रेषण जग्गा दलालीमा मात्रै लगानी भएको र त्यो रकम उत्पादन र रोजगारी सिर्जनामा केन्द्रीत नभएको बताए ।

उनले कृषि क्षेत्रको विकासका लागि बैंकले प्रमुख प्राथमकिता दिनुपर्ने उल्लेख गर्दै कृषि क्षेत्रको विकास गर्ने हो भने त्यसमा केन्द्रित गर्न सुझाव दिए ।

पूर्वाधार विकासका लागि स्थापना गरिएको भनिएको पूर्वाधार बैक पनि प्रमुखताका साथ प्राथमिकतामा जान नसकेको उनको गुनासो छ । उनले पुनरकर्जा पनि राम्रोसँग परिचालित नभएका कारण व्यवसायी थला पर्न लागेको र विशेष गरी पर्यटन र यातायात क्षेत्र बढी प्रभावित भएको बताए ।

ठोस नीति नआउँदा साना व्यवसायी बढी पेलिने गरेको भन्दै उनले निश्चित क्षेत्र नै तोकेर नीति बनाउनुपर्ने सुझाव दिए ।

‘लक्ष्य थोरै राखेर भए पनि माथि जाने खालको नीति तत्कालको आवश्यकता हो, विकसित अर्थतन्त्र जसरी स्वायत्त ढंगले कुनै पनि विषय वस्तुलाई बुझ्न हुँदैन, बजेटसँग अन्तरसम्बन्धित भइ जानुपर्छ,’ उनले भने ।

अर्थतन्त्रको संरचनामा समस्या रहेको भन्दै पूर्वअर्थमन्त्री समेत रहेका डा. भट्टराईले डिर्पाचर लिने खालको नीति जरुरी रहेको आवश्यकता औल्याए । साहसिकरुपमा परिवर्तन गर्ने खालको नीति तत्कालको आवश्यकता रहेको बताउँदै उनले औद्योगिक उत्पादनमूखी र देशभित्रै रोजगारी सिर्जना गर्ने खालको नीति आवश्यक रहेकोमा जोड दिए ।

उनले पटक–पटक जोड दिएर विप्रेषण विशेष गरी जग्गा दलालीको क्षेत्रमा गएको र त्यो अनुत्पादनशील क्षेत्र रहेकाले विशेष ध्यान जानुपर्नेमा ध्यानाकर्षण गराए ।

अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने खालको लहर आइरहेको भन्दै उनले साना र मझौला व्यवसाय प्रवद्र्धन गर्ने गरी ब्याजदर र कर्जा प्रावह गर्ने खालको नीति अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

भट्टराईले कोभिडका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने खालको नीति जरुरी रहेको र मौद्रिक नीति सोही दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए । कोही व्यवसायी थलापर्ने अवस्थामा पुगेको भन्दै त्यस्ता व्यवसायीलाई राहत दिन कुनै पनि कन्जुस्याई गर्न नहुने पूर्व प्रधानमन्त्री भट्टराईको तर्क छ ।


क्लिकमान्डु