अर्थमन्त्रालय, योजना आयोग, राष्ट्र बैंकका धितोपत्र हेर्ने कर्मचारीलाई सेयर कारोबारमा बन्देज लगाऔंः बाबुराम भट्टराई



काठमाडौं । पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैैंकका धितोपत्र बजार हेर्ने शाखामा कार्यरत कर्मचारीलाई सेयर कारोबारमा बन्देज लगाउन माग गरेका छन् ।

सांसद रामकुमारी झाँक्रीको संयोजकमा गठित उपसमितिले तयार पारेको प्रतिवेदनमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

‘त्यहाँ शाखामा काम गर्ने कर्मचारीले उक्त शाखामा जानु पूर्व र उक्त शाखाबाट हटेपछि आफूसँग कति सेयर छ सबै जानकारी गराउनु पर्छ । त्यो बीचमा आफूसँग भएको सेयर बिक्री गर्न पाइन्छ, किन्न पाईँदैन, बेच्नका लागि पनि सरोकारवाला निकायको अनुमति लिनैपर्छ,’ उनले भने ।

यस्ता शाखामा बस्दा स्वार्थ बाझिँने भन्दै ती शाखाका कर्मचारीका एकाघरका कर्मचारीले पनि कारोबार गर्न नपाउने व्यवस्था गर्न आवश्यक रहेको तर्क गरे ।

डा. भट्टराईले नियमनकारी निकायले पनि भित्री कारोबार गर्न सक्ने सम्भावना हुने भन्दै यसले सर्वसाधारणलाई असर पार्ने दाबी गरे ।

अब नियमनकारी निकायमा रहने जुनसुकै व्यक्तिले पनि सेयर कारोबारबाट आफूलाई मुक्त गर्न आवश्यक रहेको तर्क गरे । यो भयो भने नेपालको सेयर बजारलाई सुधारको पक्षमा लैजान सहयोग गर्ने उनको दाबी छ ।

सांसद रामकुमारी झाँक्रीले सेवोन र नेप्सेका कर्मचारीले आईपीओमा आवेदन दिने गरेका भन्दै यसलाई रोक्न आवश्यक भएको बताइन ।

‘अब राष्ट्र बैंक, अर्थमन्त्रालय, योजना आयोगका पुँजी बजार शाखामा रहेर काम गर्ने कर्मचारीले कारोबार गर्ने कि नगर्ने भन्ने प्रश्न छ । यसले बजारलाई म्यानुपुलेसन भयो । उनीहरुले गर्ने कारोबारलाई रोक्न यसलाई कानूनमा नै राखेर रोक्न आवश्यक छ,’ उनले भनिन् ।

अब उनीहरुले नियमनमा बसेर लगानीकर्तासँग प्रतिस्पर्धा गर्न दिँदैन भन्ने मान्यता स्थापित गर्न आवश्यक रहेको बताइन ।

ब्रोकर कम्पनी सेवा दिन बसेका भए पनि उनीहरुको एकाघरका परिवारका सदस्यले कारोबार गर्दा बजारमा पारदर्शिता नहुने बताइन । यसले साधारण लगानीकर्ता मर्कामा पर्ने उनको धारणा छ ।


क्लिकमान्डु