ट्याक्सी चलाउने व्यवस्था गर्न विकास समितिको सरकारलाई निर्देशन



काठमाडौं । विकास तथा प्रविधि समितिले सर्वसाधारणलाई आवत जावतमा थप सहजता प्रदान गर्न ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले कोरोना कारण सर्वसाधारणलाई आवत जावतमा समस्या भएको भन्दै ट्याक्सी सञ्चालनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

विश्व स्वास्थ्य संगठन, सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोरोना मेनेजमेन्ट कमिटी (सिएमसी) ले तयार पारेका मापदण्डहरु पुरा गरी सरकारले लकडाउनकै अवधीमा पनि केहि पेशा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पुरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउनु पर्ने जनाएको छ ।

सार्वजनिक यातायातसँग सम्बद्ध मजदुर संगठन र व्यवसायीक संगठनहरुका पदाधिकारी एवं प्रतिनिधिहरुले लकडाउनका कारण मजदुरहरुको दैनिकी कष्टकर बनेको समितिको ठहर छ । मजदुरले गुजारा चलाउन नसकेपछि आत्महत्याको तहसम्म पुग्नुपर्ने परिस्थिति भएको समितिको ठहर छ ।

समितिले आगामी दिनमा आम नागरिकको जनजीवनको महत्वपूर्ण पाटोको रुपमा रहेको सार्वजनिक यातायात कोरोना कारण सृजित लकडाउनको अवधिमा र कोरोना महामारीका बीचमा सार्वजनिक यातायातलाई व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने सम्बन्धमा विषयमा आगामी दिनमा छलफल गर्ने पनि जनाएको छ । अब समितिले (सिएमसि) र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसंग आगामी बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु