काठमाडौं महानगरले निर्माण गर्यो दर्जन बढी पार्क
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा दर्जन बढी पार्क निर्माण भएको छ ।
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा २३ वडामा सहिद धर्मभक्त माथेमा पार्क, ३१ वडामा हनुमान पार्क, गणेश मन्दिर पार्क, लोकेश्वर महादेव मन्दिर परिसरमा पार्क निर्माण सम्पन्न गरेको छ ।
त्यसैगरी वडा ४ मा टुँडालदेवी पार्क त्यस्तै टुसाल पार्क निर्माणको काम सम्पन्न भएको छ । विभिन्न वडामा मदन भण्डारी पार्क, वडा नम्बर–४ मा सुकेधारा कृष्ण गल्ली पार्क, वडा नम्बर–३ मा बाँसबारी इकोपार्क, टुँडालदेवी पार्क निर्माणको पनि महानगरपालिकाले पहिलो चरणको काम सम्पन्न गरेको छ ।
त्यसैगरी महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मै न्ह्योखा पार्क, शान्ति नमूना पार्क, गौरीघाट हरियाली पार्क, धोबीखोला पार्क, त्रिपुरेश्वर ज्येष्ठ नागरिक पार्क, कुलेश्वर पार्क, कुलेश्वर आवास क्षेत्र पार्क, बागमती नगर पार्क, कुमारी पार्क, रानीबारी पोर्पा अजिमा पार्क, वडा नम्बर–२१ मा लगं पार्क, कमल पोखरी पार्कलगायको निर्माण कार्य सुरु गरिसकेको छ ।
यी पार्क निर्माणका लागि करीब ३८ करोड बजेट व्यवस्था गरेको छ । बाग्मती नगर पार्क करीब ७ करोडमा र लगं पार्क करीब ६ करोडको लगानीमा निर्माण भइरहेका छन् । कमलपोखरी गुरुयोजना अन्र्तरगत करीब ७ करोडको लगानीमा निर्माण कार्य सूचारु रहेको महानगरपालिकाले जानकारी दिएको छ ।
काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकासँग पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत हरियाली प्रर्वद्धनमा जोड दिदैँ आएको छ । काठमाडौं जिल्लाका १० वटा नगरपालिका तथा मध्यपुर थिमी नगरपालिकासँग सम्झौता गरी पार्क निर्माण कार्य अघि बढाएको महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरपालिकाले दिएको जानकारी अनुसार टोखा नगरपालिकामा बौडेश्वर बाल उद्यान, कीर्तिपुर नगरपालिकामा युद्ध स्मारक पार्क, बुढानीलकण्ठ नगरपालिकामा बुढानिलकण्ठ पार्क, तारकेश्वर नगरपालिकामा तारकेश्वरधाम ऐतिहासिक पार्क निर्माण भइरहेको छ ।
नागार्जुन नगरपालिकामा गणेशमान स्मृति पार्क, चन्द्रागिरी नगरपालिकामा मदन भण्डारी पार्क, दक्षिणकाली नगरपालिकामा बहुउद्देश्यीय उद्यान, गोकर्णेश्वर नगरपालिकामा राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्र भित्र गोकर्णेश्वर पार्क, कागेश्वरी मनोहरा नगरपालिकामा कागेश्वरी धाम उद्यान पनि निर्माण भइरहेको छ ।
यस्तै शंखरापुर नगरपालिकामा बज्रयोगिनी क्षेत्र हरित उद्यान र मध्यपुर थिमी नगरपालिकामा शंखधर शाख्वा स्मृति सामुदायिक पार्क निर्माण भइरहेका छन् । ती पार्कहरुमा महानगरपालिकाले प्रति नगरपालिका एक करोडका दरले ११ करोड लगानी गरिसकेको छ ।