काठमाडौँ महानगर भित्रका ‘ए’ डिभिजन क्लबलाई प्रति क्लब १० लाख सहयोग



काठमाडौँ । काठमाडौँ महानरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ६ ओटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

राजधानीमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यले आफ्नो क्षेत्र भित्र रहेका ६ ओटा क्लवलाई प्रति क्लव १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । काठमाडौँ महानगरपालिकाले गत वर्ष पनि ‘ए’, ‘वि’ र ‘सि’ डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको थियो ।

महानगरपालिकाबाट आर्थिक सहयोग पाउने क्लबहरु क्रमशः मछिन्द्र क्लब, सरस्वती युवा क्लव, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मस्र्यादी क्लब रहेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख शाक्यले खेलकुद विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको बताए ।
प्रमुख शाक्यले खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई सहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको जानकारी दिए ।

‘जनप्रतिनिधि निर्वाचित भएर आएपछि भौतिक पूर्वाधार निर्माण, संम्पदा संरक्षण, हरियाली प्रर्वद्धनलगायतका क्षेत्रमा काठमाडौँ महानगरपालिकाले काम गर्दै आएको छ,’ प्रमुख शाक्यले भने, ‘त्यो सँगै हामीले खेलकुद, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखेर निरन्तर काम गर्दै आएका छौँ । खेलकुद विकास तथा प्रर्वद्धनका लागि हामीले गरेको यो सानो सहयोग मात्रै हो ।’

उनले आगामी दिनमा पनि खेदकुद क्षेत्रको विकासका लागि सहकार्य गरेर अघि बढ्न तयार रहेको जानकारी दिए । ‘खेलकुद क्षेत्रको समग्र विकासका लागि सहयोग गर्न महानगरपालिका तयार छ,’ उनले भने, ‘आगामी दिनमा सहकार्यलाई थप बलियो बनाउँदै हामी तपाईँहरुलाई थप सहयोग गर्न चाहन्छौँ । तपाईँहरुले पनि खेलकुदको माध्ययमबाट महानगरपालिका र समग्र देशको पहिचान बढाउने कुरामा निरन्तर ध्यान दिनुहोला ।’

प्रमुख शाक्यले महानगरपालिका क्षेत्र भित्र रहेका ‘ए’ डिभिजनलाई १०, वि लाई तीन लाख सीलाई २ लाख रुपैयाँका दरले सहयोग गर्दै आएको जानकारी दिए । ‘विगतका वर्षमा जस्तै यो वर्ष पनि हामीले ए, वि र सि डिभिजनलाई एकै पटक आर्थिक सहयोग गर्ने भनेका थियौँ । आज एलाई गर्यौँ । वि र सिलाई आगामी दिनमा यो पटकको सहित थप गरेर सहयोग गर्ने छौँ ।’

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले पनि काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको बताइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गरेको भन्दै प्रसंशा गरे । ‘डिभिजन क्लबहरुलाई आर्थिक सहयोग गर्ने ऐतिहासिक परम्पराको थालनी काठमाडौँ महानगरपालिकाले गरेपछि अहिले अन्य महानगरपालिकाले पनि त्यसलाई निरन्तरता दिएका छन,’ शेर्पाले भने, ‘अहिले काठमाडौँ उपत्यकामा बढेको घना बस्तीका कारण फुटवल मैदानहरु लोप हुँदै गएका छन् । यस्तो बेलामा हामीले खेल अभ्यासका लागि महानगरपालिकासँग सहकार्य अघि बढाउने कुरामा पनि छलफल गर्दै आएका छौँ ।’

उनले सुरुमा टुँडिखेललाई खेल अभ्यासका लागि प्रयोग गर्ने विषयमा छलफल भएको भन्दै पछि धरहरा निर्माणको काम अघि बढाउँदा त्यहाँका निर्माण सामाग्री राख्नु पर्ने भएकाले तत्कालका लागि व्यवस्थित गर्न सम्भव नभएको बताए । ‘अहिले पनि महानगरपालिकाको सहकार्यमा खुला ठाउँहरुको खोजी गरी त्यहाँ खेल अभ्यासका लागि उपयुक्त स्थान बनाउने कुरामा छलफल भैरहेको छ,’ उनले भने, ‘हामीले महानगरपालिकाबाट अझै धेरै आशा गरेका छौँ ।’


क्लिकमान्डु