विदेशबाट उद्दार गरिएको यात्रुसँग महंगो भाडा लिएर ठगी गरियोः यातायात व्यवसायी



काठमाडौं । यातायात व्यवसायीहरुले विदेशबाट उद्दार गरी ल्याइएका व्यक्तिहरुलाई सवारी भाडादरमा ठगी गरिएको भन्दै भाडादरको विवरण उपलब्ध गराउन माग गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका पदाधिकारीहरुले आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेट गरी होल्डिङ सेन्टरबाट प्रदेश र स्थानीय तहसम्म पु¥याउँदा महँगो भाडादर लगाइएको भन्दै त्यसको सूचना उपलब्ध गराउन माग गरेका हुन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले सीसीएमसीले होल्डिङ सेन्टरबाट यातायात व्यवस्था विभागमार्फत् विभिन्न ठाउँमा पुर्याउने कार्यको व्यवस्थापन गर्ने भनेपनि विभागले आफुहरुलाई कुनै जानकारी नगराएको र यात्रुलाई महँगो भाडादरमा घर जान बाध्य पारेको आरोप लगाए ।

उनले होल्डिङ सेन्टरबाट बिना टेन्डर, बिना कोटेशन र बिना सूचना अनाधिकृत व्यक्तिहरुमार्फत यातायात व्यवस्था विभागबाट तोकिएको भाडादर विपरितको भाडा लिएर ठगी गरिएको बताए ।

विभागले तोकेको भाडादरमा तराई क्षेत्रमा ४० प्रतिशत, पहाडी क्षेत्रमा ५० प्रतिशत र उच्च पहाडी क्षेत्रमा ६० प्रतिशत भाडा लिएर सेवा उपलब्ध गराउन सकिने भएपनि आफुहरुले कुनै सूचना नपाएको रिजालले बताए ।

यातायात व्यवस्था विभागका महानिर्देशक हमालले सीसीएमसी, नेपाली सेना र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर सवारी साधन उपलब्ध गराउन आग्रह गरे ।

उनले विभागले टेण्डर हालेर, कोटेशन निकालेर गर्नुपर्ने विषय नभएको र सवारी उपलब्ध गराउने विषयमा सम्बन्धित पक्षसँग समन्वय गर्न आग्रह गरे ।

उनले सवारी उपलब्ध नभए विभागले जसरी पनि उपलब्ध गराउने भनेको तर टेण्डर निकाल्नु पर्ने विषय नभएकाले व्यवसायीहरुलाई गाडी उपलब्ध गराउन जानकारी भने गराइएको बताए ।

व्यवसायीहरुले भने विभागले कुनै लिखित सूचना नदिएको बताए । उनीहरुले विदेशबाट नेपालमा कति मानिस भित्रिए र कति मानिससँग कति भाडा लिएर पठाइयो त्यसको सूचना आफुहरुले पाउनुपर्ने हक रहेको भन्दै सूचना दिन माग गरे । उनीहरुले सवारी साधन उपलब्ध गराउने विषयमा आफुहरुलाई सूचना नदिनुले ठूलो ठगी भएको स्पष्ट हुने बताए ।


क्लिकमान्डु