काठमाडौंको ढलमा कोरोना देखिएकोबारे स्वास्थ्य मन्त्रालयको स्पष्टिकरण



काठमाडौं । काठमाडौं उपत्यकाको ढलको पानीमा कोरोना देखिएकोबारे स्वास्थ्य मन्त्रालय स्पष्टिकरण दिएको छ । त्यसबारेमा समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ढलको पानीबाट मानिसमा कोरोना नसर्ने दाबी गरे ।

‘विश्वका अन्यत्र भएका अध्ययनले व्यक्ति कोभिड १९ बाट संक्रमित भएकै अवस्थामा वा निको भइसकेपछि पनि ढलमा कोभिड १९ भाइरल आरएनए अर्थात् भाइरसका टुक्राटाक्री भेटिएको देखिन्छ । जुन सामान्यतयाः रोग सार्ने खालको हुँदैन,’ उनले भने ।

यसैगरी अध्ययनअनुसार कोरोना भाइरस सामान्य तापक्रमको पानी जसमा क्लोरिन जस्तो जिवाणु जस्तो राखिएको फोहोर पानी अर्थात् अस्पतालबाट निस्कने ढलको पानीमा पनि २ दिनसम्म बाच्ने देखिन्छ ।

उनका अनुसार यसरी ढलको पानीमा कोरोना भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा कोरोना सर्न सक्ने सम्भावनालाई अध्ययनहरुले पुष्टि नगरेको बताए ।

त्यसैगरी अन्य संक्रमण रोगका किटाणु प्रशक्त हुने भएकाले ढलको पानी उचित प्रशोधन हुन जरुरी रहेको उनले बताए ।

‘ ढलको पानीमा कोभिड १९ को अंश भेटियो भन्दैमा समूदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न मिल्दैन । साथै ढलको फोहोर पानीमा काम गर्ने सरसफाइकर्ताले कर्मचारीले उचित प्रकारका व्यक्तिगत सुरक्षा सामग्री लामो खालको गाउन, बाक्लो पञ्जा, बुट, मास्क र चश्मा लगाउनुपर्ने हुन्छ,’ उनले भने ।

उनले काम गर्दा फोहोर हातले नाक, मुख आँखा छुनु हुँदैन । र, पीपीई खोलिसकेपछि अनिवार्य रुपमा सही ढंगले साबुन पानीले हात धुनुपर्छ । फोहोर पानी ढल प्रणालीबाट कोभिड १९ भाइरस संक्रमण भएको फेला नपरेको स्पष्ट पारे ।

तर अन्य संक्रमणको सम्भाव्यतालाई समेत मध्यनजर गरी फोहोर पानीको उचित प्रशोधन र व्यवस्थापन हुनु आवश्यक भएकाले ढलको पानीमा कोरोना देखियो भन्दैमा नआत्तिन मन्त्रालयले सुझाव दिएको छ ।


क्लिकमान्डु