अर्थतन्त्र डामाडोल अवस्थामा छ, सहकारीको पुँजी रोजगारीमूलक क्षेत्रमा लगानी गरौः मन्त्री अर्याल



ललितपुर । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले नेपालको अर्थतन्त्र बलियो बनाएर काम गर्न सहकारी क्षेत्रलाई आग्रह गरेकी छिन् ।

९८ औं अन्तराष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका सन्दर्भमा राष्ट्रिय सहकारी महासंघ लिमिटेडले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

अहिले अर्थतन्त्र निकै कमजोर अवस्थामा रहेको भन्दै मन्त्री अर्यालले त्यसलाई बलियो बनाउनका निम्ती सहकारी क्षेत्र बलियो आधार हुने बताए । ‘सहकारीसँग ठूलो पुँजी छ । त्यसलाई परिचालन गरेर हामीले रोजगारीमूलक क्षेत्रमा लगानी गर्न सक्छौ’, मन्त्री अर्यालले भनिन्, ‘अर्थतन्त्र डामाडोल अवस्थामा छ । हिजोसम्म सञ्चितीले काम गरिरहेको थियो । अब पुरै माइनसमा छ । यस्तो अवस्थामा सहकारीले मुलुकको अर्थतन्त्रमा योगदान दिनुपर्छ ।’

सहकारी क्षेत्रका सम्भावित बित्तिय जोखिमलाई नियन्त्रण गर्न अहिले नै सचेत हुनुपर्ने बताउदै सहकारीको संख्या अत्यधिक भएका कारण राज्यले मात्रै अनुगमन, नियमन गर्न कठिन रहेको बताइन । स्वनियमनका कार्यलाई पनि अगाडी बढाउनुपर्ने आवश्यकता रहेको उनले तर्क छ ।

सहकारी क्षेत्रप्रतिको आम जनताको विश्वास कायम राख्नल अहिलेदेखि नै सचेत रहनुपर्ने उनको भनाइ छ । त्यसका निम्ती केन्द्रीय सहकारी संघहरु बढी लाग्न मन्त्री अर्यालले आग्रह गरिन् ।

केही कानुनहरु संशोधन गरेर जानुपर्ने भएकाले आजको आवश्यकतालाई पुर्ती गर्नेगरी ऐन संशोधन गर्न अगाडी बढिरहँदा पनि टुंग्याउन नसकिएको मन्त्री अर्यालले बताइन । ‘तपाइहरु एकमत भएर टुंग्याइदिनुस । मेरो बिनम्रतापुर्वक आग्रह छ । डेढ वर्ष भयो टुंगिनै नसक्ने । यत्रो समयसम्म टुंगिनै नसक्ने शोभनिय कुरा होइन’, मन्त्री अर्यालले भनिन् ।

नेकपाभित्र चलिरहेको समस्या समाधान गर्न कम्युनिष्ट पार्टी सक्षम रहेको मन्त्री अर्यालले बताउनुभएको छ । नेकपा पार्टीले झनै उचाइ लिँदै गएकाले अहिले नै कुनै दुर्घटना नहुने सङ्केत गरिन् । मन्त्री अर्यालले भनिन् ‘यो समस्याको समाधान गर्नका निम्ती कम्युनिष्ट पार्टी सक्षम छ, योग्य छ । विगतमा पनि यस्तो हुन्थ्यो । भएरै समाधान गर्दै, छलफल गर्दै यो उचाइमा आएको हो ।’

संसद अधिवेशन बोलाउने र बन्द गर्ने कुरा सरकारको कुरा भएको भन्दै उनले संसदको बिजनेश नभएका कारण चालु संसद अधिवेशन बन्द गरिएको प्रष्ट पारिन । मन्त्री अर्यालले भनिन्, ‘हामीले बजेट ल्याउनुपर्ने थियो । यस्तो महामारीमा पनि अधिवेशन बोलाउनुपर्यो बोलायौं । बजेट पास भयो । केही–केही विधेयकहरु थिए, त्यो विधेयकमाथी छलफल गर्नुपर्ने थियो । सहमति जुट्यो ।’


क्लिकमान्डु