उपत्यकाको पहाडमा शनिबारीय हाइकिङ



भनिन्छ नि, ‘वाल्किङ इज अ मेन्स बेस्ट मेडिसिन’ । हो, यसै मन्त्रलाई पछ्याउँदै हालैको एक शनिबार साथी कमल र मैले हाइकिङ गर्ने निधो गर्यौं ।

विश्वभरी फैलिएको कोरोना कहरबाट बच्नका लागि हामी सबै लकडाउनमै थियौं । तर लकडाउन केही खुकुलो भएको मौकामा उकुसमुकुसबाट फुत्त बाहिर निस्केर हाङकिङ जाने योजना बनाएका थियौ ।

पर्यटकीय दृष्टीले नेपालमा आउने अधिकांश पर्यटकको रोजाइ पदयात्रा र हिमाल नै पर्छन् । पोखराको सुन्दरता हेरेपछि हिमाल चढ्ने पर्यटकहरू कैयन छन् । विगतका वर्षमा हामी पनि त्यसै गर्दथ्यौं । काठमाडौंमा बसाइ भएकाले हाङकिङको तिर्खा मेट्न सधैभरी टाढा जान सम्भव हुँदैन पनि ।

त्यसैले पछिल्लो समयमा उपत्यकाको वरीपरी विराजमान पहाडलाई रोजेका छौं । पछिल्लो समयमा जामाचो गुम्बामा पुगेका हामी यसपटक भने छेवैको तारकेश्वर पुग्ने योजना बनायौं ।

पहिलो कुरा त घरदेखि नजिकै पनि भयो र हाइकिङ जाने रहर पनि पूरा हुने । अहिले काठमाडौं उपत्यकालाई छेकेर बसेका सबै जसो पहाडहरु एकदिने हाइकिङलाई सबैभन्दा राम्रो विकल्प बनेका छन् । शिवपुरी निकुञ्जमै पनि कैयन हाकाइकिङका रुट छन् ।

त्यसैले शनिबार बिहानै कंक्रिटको छपक्क छोपिएको सहरलाई नियाल्न टाकुरामा पुग्दै थियौ । खुला आकाश, हरियाली वातावरण, चराको चिरबिर संगीतमा रमाउँदै एतिहासिक तारकेश्वर महादेव मन्दिरसम्म पुगेर हाकिङ सकाउने योजना बुन्यौ ।

बिहानै काभ्रेस्थली लाग्यौं । तारकेश्वर नगरपालिकामा पर्ने तारकेश्वर मन्दिर काठमाडौं नजिकैको शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्छ । बर्खाको मौसम भए पनि पानी नपरेकाले उकालो लाग्दै गर्दा पारिलो घाम टाउको मै ठोकियो । एकातिर पहाडको ठाडै उकालो र अर्कोतिर चर्कँदो घामले शुरुमा श्वास फेर्नै गाह्रो बनायो ।

झण्डै ५ सयमिटर उकालो लाग्दै गर्दा श्वास फुलेर आयो । एकछिन आराम गर्यौं, पानीले मुख भिजायौं र फेरि उकालो लाग्यौं । सल्लेरी वनमा सुसेली हाल्दै बहेको हावा, चराको चिरविर आवाज र त्यो भन्दा मनमोहक हरियाली दृश्यले मनै प्रफुल्ल बनायो । एकैछिन अघिको थकाइ निमेषभरमै खोइ कता हरायो पत्तै पाइएन ।

झ्याउँकिरीको आवाजसँगै मोबाइलको प्लेलिस्टमा भएका गीत सुन्दै सल्लेरी वनको उकालो लागिरह्यौं । गोजीबाट मोबाइल निकालेर केही क्लिक पनि गर्यौं । सेल्फी पनि लिँदै उकालो लाग्यौं । ए अँ साच्चिकै टिकटकका लागि भिडियो पनि लियौं ।

तारेकेश्वर मन्दिर पुग्न हामीले अघिल्लो दिन बनाएको रुट बिर्सिएर हामी अर्कौ रुट समातेको अलिकमाथि पुगेपछि थाहा भयो । शुरुमा तीनपिप्ले र पाँचमाने हुँदै जाने योजना बनाएका हामी काभ्रेस्थलीबाट यात्रा शुरु गरेका थियौं । तर पाँचमाने खोज्दै काभ्रेस्थली पुगेपछि त्यहीबाट हाङकिङका लागि पाइला चालेका थियौं ।

हाइकिङको विशेषता भनेकै प्रत्येक पाइलामा प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गर्न पाउनु हो । बर्खामा हाइकिङ अलि अप्ठ्यारो त हुन्छ नै । बाटाहरु हिँड्नका लागि सहज हुँदैनन् । छिनछिनमा परिरहने झरी, हुर्कंदै गरेका बोटविरुवाको झाडी, चिप्लो बाटो अझ त्यसमाथि जुकाको उस्तै डर ।

पदयात्रामा यी र यस्ता कुराको त्यत्ति ख्याल गर्नु हुँदैन । होसियारी अपनाउँदै यात्रा गरिरहनु पर्छ । हामी पनि बाटो पहिल्याउँदै, झाडी पन्छाउँदै हिडिरह्यौं । करिब एक घण्टाको उकालो चढेपछि मुल बाटो भेट्यौं ।

यहाँ पुगेपछि भने मोबाइलमा भएको म्यापले पनि काम गर्यो । चराको चिरबिर, छिनछिनमा आउने जाने कुहिरोसँग लुकामारी गर्दै म्यापअनुसार अगाडि बढ्यौं । सिँडीको उकालो लागेसँगै शितलताले यात्रा अझ सहज हुँदै गयो ।

ओसिलो सिँडीमा लागेको हरियो लेउले अझ सुन्दर बनाएको थियो । उकालो चढ्दै गएपछि करिब १८ सय मिटरको उचाइमा पहराको टुप्पोमा तरकेश्वर महादेवको मन्दिर पुग्यौं । पहरामा विराजमान महादेव भक्तजनको पर्खाइमा शान्त अनि शौम्य थिए ।

खासै चहलपहल थिएन । लकडाउनअघि बिदाका दिन केही चहलपहल बढे पनि त्यसदिन मानिस कोही पनि भेटेनौं । जोखिमयुक्त पहरामा रहेका महादेवको पूजा गर्नका लागि फलामे भर्याङ्ग राखिएको छ । भर्याङ्ग चढेर महादेवको दर्शन गर्दा होसियारीका साथ गर्नुपर्ने हुन्छ ।

बर्खायाम भए पनि आज आकाश खुलेकाले काठमाडौं उपत्यका गज्जब देखिन्थ्यो । तलबाट माथि तिर बहने कुरिहरोको बहाव हेर्नलायक थियो । हामी दुई जनाले केही थान सेल्फी र फोटो लियौ अनि मन्दिर दर्शनसँगै केहिबेर सुस्तायौं पनि ।

मन्दिर नजिकै रहेको पाटी, आश्रम पनि भूकम्पले भत्केदेखि बनाइएको रहेनछ । मन्दिरको काखमा रहेको पोखरीको सरसफाइ नभएकाले त्यसको सुन्दरता जति हुनुपर्ने हो त्यो देखिँदैन । काठमाडौं उपत्यकाको उत्तर क्षेत्रमा पर्ने घना जंगलभित्रको रुट भएकाले पनि हामी प्रकृतीसँगको सामिप्यताको आनन्द लिँदै ओरालो लाग्यौं ।

फर्कदा नयाँ बाटोबाट फर्कने निर्णय गरी पाँचमाने तिर हान्नियौं । हामीसँग प्रशस्त समय भएकाले अनि पाँचमानेको रुट जान्नका लागि पनि हामी आएको बाटो नफर्किएर यता झरेका थियौं । पाँचमानेदेखि शुरु हुने हाइकिङ्गको पाइला पइलामा पदयात्रीले प्राकृतिक छटाको अनुभूती गर्न पाउँछ ।

शिवपुरी जंगलभित्र चराचुरुंगीको आवाजसँगै थरीथरीका बोटविरुवा खोल्साखोल्सीले पदयात्रीलाई यात्रा भर साथ दिन्छन् । काठमाडौं उपत्यकालाई देब्रे पार्दै ओरालो झर्दै गर्दा देखिने दृश्य बडो आनन्ददायी छ ।





 


क्लिकमान्डु