स्वास्थ्य सुरक्षा प्रोटोकलबारे पर्यटन व्यवसायीलाई पर्यटन बोर्डले अनलाइनबाट तालिम दिन थाल्यो



काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन प्रोटोकल तालिम दिन शुरु गरेको छ । कोरोना भाइरस संक्रमण जोखिमपछि पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालय र बोर्डले जारी गरेको ‘अपरेसनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टर’लाई प्रभावकारी कार्यान्वयन गर्नका लागि तालिम दिन शुरु गरेको हो ।

बोर्डका अनुसार पर्यटन व्यवसायीहरुलाई अनलाइन तालिम दिन असार १८ गतेदेखि शुरु गरेको हो ।

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले हाल तालिममा ६ सय जनालाई सहभागी गराइने बताए र आगामी दिनमा यो संख्यालाई बढाउँदै लैजाने उनको भनाइ छ ।

असार ८ गते उद्घाटन भएको प्रोटोकलमा आधारित भएर पर्यटन व्यवसायीहरुका लागि डिजिटल तालिम आयोजना गरिएको थियो ।

पर्यटन विमानस्थलमा ओर्लेदेखि फर्किदाँसम्म अपनाउनुपर्ने विषय प्रोटोकलमा समावेश गरिएको छ । तालिमले पर्यटन उद्योगको हालको प्रमुख विषय स्वास्थ्य सुरक्षामा जाड दिइ डिजिटल मार्केटिङको प्रयोग गरी व्यवसायलाई जीवन्त बनाउन तथा व्यवसायीहरुबीच समन्वय गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

बोर्डले हाल होटल संघ (हान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) नेपालसँगको समन्वयमा तालिमको आयोजना गरिरहेको छ । साथै आगामी दिनमा आवश्यकता अनुसार अन्य पर्यटन संघसंस्थासँगको समन्वयमा प्रादेशिक स्तरमा तालिम दिइने बोर्डको भनाइ छ ।


क्लिकमान्डु