काभ्रेको नागिडाँडा विमानस्थल बन्छ कि बन्दैन ?: यसो भन्छन पर्यटनमन्त्री भट्टराई



काठमाडौं । गत असार १६ गते पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले काभ्रेको नागिडाँडा विमास्थल निर्माणको काम विस्तारै अघि बढेको उल्लेख गर्दै फोटो सहित ट्विट गरे ।

तर पर्यटनमन्त्री योगेश भट्टराईले भने निर्माण हुने वा नहुने कुनै टुंगो नभइसकेको प्रतिक्रिया दिएका छन् । शुक्रबार मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भट्टराईले अब राजनीतिक स्वार्थ र चाहनाका आधारमा विमानस्थल निर्माण नहुने दोहोर्याए ।

काभ्रेको नागिडाँडामा बन्ने विमानस्थलका बारेमा प्रश्न गर्दा मन्त्री भट्टराईले भने, ‘अब राजनीतिक स्वार्थका आधारमा विमानस्थल बन्दैनन्, यसका लागि हामीले तीन वटा आधार बनाएका छौं, पहिलो अत्यन्तै विकट, दोस्रो पर्यटकीय क्षेत्र र अर्को व्यवसायिक प्रतिफल हुने भएमात्रै विमानस्थल बन्छन् ।’

उनका अनुसार यी तीन वटामध्ये कुनै एउटा मात्रै कुरा पुष्टि भएमा मात्रै काभ्रेको नागिडाँडामा विमानस्थल बन्छ । र, यसका लागि अहिले अध्ययन भइरहेको र प्रतिवेदन आउने क्रममा रहेको बताए ।

लामो समयदेखि सरकारको योजनामा रहे पनि निर्माण हुन नसकेको विमानस्थलमा काभ्रे जिल्लाको नागिडाँडाको विमानस्थल पनि एक हो । राजधानी जोड्ने सबैभन्दा नजिकको विमानस्थल भनेर प्रचार गरिए पनि त्यसले मूर्तरुप भने लिन सकेको छैन । यद्यपि आगामी वर्षको बजेटमा समेत उक्त विमानस्थलका लागि निर्माण गरिने उल्लेख छ ।

काठमाडौंमा भएको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा विमानस्थल बनाउन खोजिएको हो । जसरी मलेसियाको राजधानी नजिक रहेको विमानस्थल छ उसैगरी काभ्रेको विमानस्थलाई पनि सोही अनुसार प्रयोग गर्न सकिने अनुमानका भरमा निर्माण गर्न खोजिएको हो ।

तर सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा निजगढ विमानस्थलको काम पनि शुरु गरिसकेको छ । जसलाई पनि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा हेरिएको छ ।

निजगढमा विमानस्थल निर्माण हुने हो र काठमाडौं जोड्ने फास्ट ट्रयाक निर्माण हुने हो भने काठमाडौंको विकल्पमा निजगढ विमानस्थल बन्न सक्छ । यसरी हेर्दा काभ्रेमा बन्ने भनिएको नागीडाँडा विमानस्थलको कुन आधारमा बन्ला त ?


क्लिकमान्डु