भैरहवा विमानस्थल निर्माणः डिसेम्बरसम्म म्याद थप, २०२१ मार्चमा सञ्चालन



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि समय थप गरिएको बताएका छन् ।

शुक्रबार मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले कोरोना भाइरसका कारण समयमै निर्माण हुन नसकेको भन्दै समय थप गरिएको बताए ।

‘कोरोना भाइरसको महामारी नहुँदो हो त यतिबेला भैरहवास्थित विमानस्थलबाट व्यवसायिक उडान भइसक्ने थियो, तर अहिले त्यो हुन सकेन, त्यसैले अहिले निर्माणका लागि समय थप गरेका छौं,’ उनले भने ।

उनका अनुसार सन् २०२० को डिसेम्बर महिनामा विमानस्थल निर्माणको काम सकिने र त्यसको तीन महिनापछि अर्थात् मार्च महिनाबाट व्यवसायिक उडान शुरु गरिने समेत उनले जानकारी दिए ।

मन्त्री भट्टराईले यसअघि पनि सन् २०१९ को डिसेम्बरमा विमानस्थलको सम्पूर्ण निर्माण काम सकिने बताएका थिए । साथै त्यसको तीन महिनापछि मार्च महिनामा व्यवसायिक उडान गर्ने बताएका थिए । यसरी हेर्दा पूर्वनिर्धारित समयभन्दा ठ्याक्कै एक वर्ष पछाडि विमानस्थल निर्माणको काम पर धकेलिने देखिएको छ ।

हाल विमानस्थलमा ९१ प्रतिशत काम सम्पन्न भएको छ । कोरोनाका कारण भएको लकडाउनमा पनि सामाजिक दूरी कायम गरी निर्माणको काम सूचारु भइरहेको मन्त्रालयको भनाइ छ ।

लकडाउन अवधिमा मात्रै ३ प्रतिशत काम सम्पन्न भएको मन्त्री भट्टराईले बताए । मन्त्रालयका अनुसार लकडाउनको अवधिमा धावनमार्ग पार्किङ क्षेत्र जोड्ने लिंक ट्याक्सी वे निर्माण सम्पन्न भएको छ भने रन वे लाइट जडानको कार्य अन्तिम चरणमा पुगेको छ ।

त्यसैगरी लकडाउनको अवधिमा टर्मिनल भवनमा एयर कन्डिसनिङ जडान गर्ने सम्बन्धि कार्य शुरु भएको, मार्बल, टाइल, आल्मुनियम तथा रंगरोगनको काम जारी रहेको, मेसिनरी तथा यन्त्र उपकरण आउने क्रम शुरु भएको, थप ५ करोड रुपैयाँ मुआब्जा भुक्तान भएको छ ।

त्यसैगरी विमानस्थल निर्माण कार्यमा २९ जना चिनियाँसहित २७५ जना कामदार निरन्तर परिचालित रहेको मन्त्रालयको भनाइ छ ।


क्लिकमान्डु