अब व्यक्तिलाई होइन, कृषि सामग्रीमा अनुदान दिइन्छः कृषिमन्त्री घनश्याम भुसाल



काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषिमा बिग्रेको व्यवस्थालाई भत्काउने र परिश्रम गर्नेले न्यूनतम बचत पाउने वातावरण बन्ने दाबी गरेका छन् ।

उदयपुरमा आयोजित १७औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव कार्यक्रममा मन्त्री भुषालले यसका लागि सरकारले नै काम गर्ने बताए ।

सरकारले यति गरेर पनि सबै कुरा बजारले गर्छ भनेर छाड्दा कृषकलाई न्याय नहुने भन्दै अब बालीको न्यूनतम समर्थन मूल्य तोकिने र त्यसको लागत, ढुवानी, सबै खर्च कटाएर २० प्रतिशत बचत गर्न सक्नेगरी न्यूनतम समर्थन मूल्य तोक्न शुरु भएको बताए ।

‘धानको समर्थन मूल्य तोकेको र धानमा गरेको लगानी, ढुवानी सबै खर्च जोडेर धान खेती गर्नेको २० प्रतिशत नाफा हुनेछ’, मन्त्री भुसालले भने, ‘तोकेको मूल्यमा किनिदिने कोही नभए किसानलाई घाटा लाग्ला भनेर २७३५ रुपैयाँ मोटा धान र २८८५ रुपैयाँ मध्यम धानको मूल्य तोकेका छौं । तोकेको मूल्य किसानले पाएनन् भने त्यो पाउने ग्यारेन्टी सरकारले लिन्छ ।’

यससँगै यसअघि केही व्यत्तिले धान रोप्नु अघि मूल्य तोक्ने र पछि मात्रै मूल्य पाउने समस्या समाधान हुने मन्त्रीको तर्क छ । अहिले व्यापारीले खेत रोप्ने समयमा नै २२/२३ सय मूल्य तोक्ने गरेको भन्दै त्यसबाट रोक्नको लागि मूल्य तोकेको उनको दाबी छ ।

अब सरकारले ३ लाख मेट्रिक टन राख्ने क्षमता राख्यो भने आवश्यक खाद्यान्न किनेर राख्ने र सरकारले बजारिकरणको पनि व्यवस्था गर्ने दाबी गरे । आगामी दिनमा कृषि क्षेत्रमा भएका सबै कुरा स्थानीय तहलाई दिँदै जाने मन्त्रीको भनाइ छ ।

कार्यक्रममा मन्त्री भुसालले अब व्यक्तिको नाममा १०/१५ करोड रुपैयाँ अनुदान दिने काम बन्द गर्ने जानकारी गराए ।

‘हाम्रै देशमा १०० रुपैयाँ पर्ने स्लाइन नभएर एकजना व्यक्ति मर्छ र उसको लासलाई बेर्ने कात्रोमा समेत राज्यले कर लिन्छौ्रं, त्यो कर मन्त्री, सचिव, सेना, प्रहरी, राष्ट्रपति, शिक्षकलगायत सबैले खाने तलब त्यहीबाट आउने हो । त्यो आकाशबाट बर्सने होइन । त्यही व्यक्तिको कात्रोमा लगाएको करदेखि विदेशमा रहेका नेपाली पठाएको पैसा, नेपाली उद्योगी व्यवसायीले तिरेको करले राज्य चलेको छ,’ उनले भने ।

उनका अनुसार अब त्यसरी संकलन गरेको करबाट १०/१५ करोड रुपैयाँ जसरी वितरण भएको छ अब त्यो वितरण हुँदैन भनेर रोकिएको छ ।

यस्तो पैसा अब मल, बीऊ, पानी, बिलुजीलाई सजिलो बनाउने र त्यसले कृषकलाई सहज हुने बताए । यसले उत्पादन वृद्धि हुने, किसानलाई सजिलो हुने, उनीहरुको पहुँचमा हुने बताए ।

अबको दिनमा उत्पादनको सामग्रीलाई सस्तो, सुलभ बनाउने तर्फ लागेको जानकारी गराए । अबको दिनमा कृषि सामग्रीमा उत्पादनको सामग्रीमा अनुदान दिने मन्त्री भुसालको तर्क छ ।

अब सरकारले सस्तो र सुलभ ऋणको पनि किसानलाई व्यवस्था गर्ने सरकारको तयारी रहेको जानकारी गराए ।


क्लिकमान्डु