जीवन बीमामा टार्गेट पूरा गर्न सुविधाको यसरी हुँदैछ दुरुपयोग, सम्पत्ति शुद्धिकरणको आंशका



गतसाता एक जीवन बीमा अभिकर्ता एक व्यवसायीको पुगे । उनले व्यवसायीलाई बीमा गरेको दुई महिनामा नै ऋण दिलाउन सक्ने आश्वासन दिए ।

एकल बीमालेखमा नभएर न्यूनतम १० देखि १५ वर्ष अवधिसम्म भुक्तान गरिने बीमा योजनामा यस्तो सुविधा दिन सकिने र ऋण लिएपछि सरेन्डर गर्न सकिने स्कीम ती अभिकर्ताले बुझाएका थिए ।

गतसाता नै त्यो समूह एक बैंकको प्रमुख कार्यकारी अधिकृतको पुग्यो । त्यहाँ पनि त्यो समूहले बीमा गरेको अर्को महिना ऋण दिने स्कीम बताएको थियो ।

एकैपटकमा सम्पूर्ण बीमा शुल्क तिर्ने योजनामा बीमा गर्ना साथ जीवन बीमा कम्पनीले ऋण दिने गर्छन् । तर बहुवर्षे बीमा योजना अन्तर्गत हरेक वर्ष तिरिने बीमा योजनामा २ वटा किस्ता तिरेपछि तिरेको किस्ता रकमको ६० प्रतिशतसम्म ऋण बीमा कम्पनीहरुले दिने गर्छन् ।

तर अहिले जीवन बीमा कम्पनीमा प्रिमियम बढाउनका लागि भएको खेल बीमा कम्पनीहरुलाई वित्तीय जोखिममा पार्ने खालको छ ।

असारमा जीवन बीमा गरेपछि अघिल्लो वर्षको साउनदेखि नै जोखिम कभर हुने गरेर बीमा गराउने अहिलेको योजनामा गरिन्छ । २०७७ सालको असारदेखि गरेको बीमामा २०७६ सालदेखिको जोखिम कभर हुन्छ ।

बीमितले २०७७ असारमा पहिलो किस्ता तिर्छ भने २०७७ सालको साउनमा दोस्रो किस्ता तिर्छ । त्यसपछि २०७७ सालको साउनको दोस्रो सातामा बीमितले ऋण लिन्छ । बीमितले सरेन्डर भ्यालुको ९० प्रतिशतसम्म ऋण पाउँछ । यो भनेको तिरेको किस्ता रकमको ६० प्रतिशतसम्म हुन्छ । तर बीमाको योजनाअनुसार पाउने ऋण फरक भने पर्न सक्छ ।

उदाहरणका लागि बीमितले असारमा १० लाख रुपैयाँ तिर्यो । उसको गतवर्षको साउनदेखि नै रिस्क कभर भयो । साउनमा पुनः १० लाख रुपैयाँ तिर्यो । उसले १२ लाख रुपैयाँसम्म ऋण पाउँछ ।

यसमा अभिकर्ता भने पहिलो बीमा शुल्कमा १० लाख रुपैयाँको २५ प्रतिशतले हुने २ लाख ५० हजार रुपैयाँ पाउँछ । त्यसमा १८ प्रतिशत बढी व्यवसाय ल्याउने अभिकर्तालाई थप प्रोत्साहनस्वरुप बीमा कम्पनीले दिन्छन् । त्यो भनेको १ लाख ८० हजार रुपैयाँ हो ।

पहिलो वर्ष अभिकर्ताले ४ लाख ३० हजार रुपैयाँ अभिकर्तालाई दिएको हुन्छ । दोस्रो वर्ष अभिकर्ता व्यवसाय हेरेर १५ देखि २० प्रतिशतसम्मको कमिसन हुन्छ ।

ठूला अभिकर्ताले २० प्रतिशतसम्म कमिसन लिन्छन् । त्यो भनेको २ लाख रुपैयाँ हुन्छ । यसरी हेर्दा २ वर्षमा अभिकर्ताले ६ लाख ३० हजार रुपैयाँ कमिसनको रुपमा लगेको हुन्छ ।

यसमा बीमित र बीमा कम्पनीलाई भन्दा बढी फाइदा बीमा अभिकर्तालाई हुन्छ ।

बीमितलाई हुने फाइदा भनेको लगानीको लागि स्रोत देखाउने बाटो हुन्छ । सम्पत्ति शुद्धिकरण गर्ने माध्यमका रुपमा जीवन बीमा कम्पनी प्रयोग हुन्छन् ।

पछिल्लो महिनामा सम्पत्ति शुद्धिकरणको कडा व्यवस्था व्यवहारिक रुपमा खुकुलो भएको छ । कोभिडको कारण व्यवहारिक रुपमा खुकुलो व्यवस्थालाई केही अभिकर्ता र कम्पनीले बीमा शुल्क आर्जन गर्ने माध्यम बनाएका हुन् ।

बीमाको व्यवसाय बढाउनका लागि अहिले बजारमा बीमा समितिले दिएको सुविधा प्रयोग गरेर जोखिम निम्ताउने काम बढी भएको एक जीवन बीमा कम्पनीका सीइओले बताए ।

‘सम्पत्ति स्रोत देखाउने माध्यम केही बीमा अभिकर्ताले गलत तरिकाले बीमा शुल्क उठाएका छन्, यसको फाइदा बीमा कम्पनी र बीमितभन्दा बढी अभिकर्तालाई मात्र भएको छ,’ एक जीवन बीमा कम्पनीका सीइओले भने ।

बीमा कम्पनीबाट ठूलो रकमको टार्गेट लिएका अभिकर्ताले नै बजारमा यस्तो तरिकाको पोलिसी बेच्ने हो ।

व्यवसायीहरुको पुग्ने अभिकर्ताले असार मसान्तमा मात्र आफूले १ अर्ब रुपैयाँको टार्गेट लिएको सुनाएका थिए । यसरी टार्गेट पूरा गर्ने अभिकर्तालाई बीमा कम्पनीले थप सुविधा दिने गर्छन् ।

गाडी खरिददेखि लिएर अन्य सुविधाहरु यस्ता अभिकर्ताले पाउँछन् । पछिल्ला वर्षहरुमा बीमा कम्पनीहरुमा सरेन्डरको रेसियो समेत बढ्दै गएको छ ।


क्लिकमान्डु