काठमाडौं प्लाजाको विवाद, ट्रस्ट कार्यालयले महानगरलाई दिने तयारी गरेपछि कन्सेप्ट डेभलपर्स असन्तुष्ट



काठमाडौं । नेपाल ट्रस्टले एकतर्फी ढंगले सूचना निकालेको भन्दै कन्सेप्ट डेभलपर्सले त्यो अन्यायपूर्ण भएको जनाएको छ । नेपाल ट्रस्टको कार्यालयले एक सूचना प्रकाशित गरी कमलादीमा रहेको ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजा खाली गरी हस्तान्तरण गर्न भनेको थियो ।

तर कन्सेप्ट डेभलपर्सले भने उक्त सूचना एकतर्फी ढंगले आएको भन्दै अन्यायपूर्ण भएको बताएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा ४/५ महिना कोरोना महामारीको कारणले व्यवसाय सञ्चालन हुन नसकेको अवस्थामा मानवीय संवेदनाभन्दा पर गइ सूचना प्रेसित गरिएको जनाएको छ ।

ट्रस्टको कार्यालयमा ८ महिना अघि कम्पनीले मासिक १३ लाख रुपैयाँ भाडा दिने र थप लगानी गर्ने भन्दै नविकरणका लागि पेश गरेको थियो । तर भाडा कम भएको भन्दै ट्रस्टको कार्यालयले स्वतन्त्र मूल्यांकन गर्दा मासिक ५९ लाख रुपैयाँको प्रतिवेदन पेश गरेको थियो ।

त्यसपछि ट्रस्टको कार्यालयले काठमाडौं महानगरपालिकालाई उक्त भवन भाडामा लिने हो भनि प्रस्ताव गरेको थियो । महानगरपालिकाले भने मासिक ५० लाख ५० हजार रुपैयाँ भाडा तिरेर बस्न तयार भएको गत मंसिर मै बताएको थियो ।

महानगरपालिकाले उक्त रकम तिर्ने भनेपछि ट्रस्टको कार्यालयले मे महिनाको १ तारिखमा बसेको सञ्चालक बोर्डले महानगरलाई भवन भाडामा दिने निर्णय गरेर मन्त्रिपरिषदमा पठाएको थियो ।

मन्त्रिपरिषदले गत आइतबार निर्णय गर्दै उक्त भवन महानगरपालिकालाई मासिक ६० लाख ५० हजार रुपैयाँमा दिनका लागि निर्णय गरेको थियो । महानगरपालिकाले भवन कार्यालय प्रयोजनमा प्रयोग गर्ने, भाडामा लगाउन नपाउने, लिफ्ट प्रविधि परिवर्तन गर्न नपाउने सर्तमा निर्णय गरेको थियो ।

यता भाडामा लिइरहेको कम्पनीले भने नविकरणका लागि ट्रस्ट कार्यालयको प्रस्ताव मागेको र अहिले पनि मासिक ६ लाख २५ हजार रुपैयाँ भाडा दिएको उल्लेख गरेको छ । अब थप ८ करोड रुपैयाँ लगानीमा भवन मर्मत गरी मासिक १३ लाख रुपैयाँ भाडा दिने सम्झौतासहित नविकरणका लागि प्रस्ताव दिएको थियो ।

कम्पनीले आफूले गरेको लगानी उठिनसकेको र अहिले पनि बैंकको ऋण बाँकी रहेको उल्लेख गरेको छ ।


क्लिकमान्डु