४० वर्षमा बिग्रिएकाे कृषिक्षेत्र ३ वर्षमा सुधार्छुः कृषि मन्त्री भुषाल



काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षदेखि बिग्रिएको नेपालको कृषि क्षेत्रलाई अबको तीन वर्षभित्र सुधार गर्ने प्रतिवद्धता जनाएका छन् ।

एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)ले राष्ट्रिय धान दिवस २०७७ को अवसरमा ‘कोरोनाका कारण कृषिमा सम्भावना र चुनौतिहरु’ विषय अन्तकृया कार्यक्रममा मन्त्री भुषालले यस्तो बताएका हुन् ।

यसअघि किसानभन्दा मन्त्रालय र मन्त्री कसरी बलियो हुने भन्नेतर्फ केन्द्रित भएका कारण कृषिप्रधान मुलुकमा अधिकांश कृषि वस्तु आयात गर्नुपरेको उनको तर्क छ ।

‘विगत३०, ४० वर्षमा बिग्रिएको कृषिलाई ३ वर्षमा सपार्न खोजेको छु, नयाँ कृषि व्यवस्थामार्फत कृषि क्षेत्रको सुधारका लागि मन्त्रालय लागिपरेको छ । मन्त्रालयको पहलमा प्रदेश, स्थानीय तह, सुुमुदाय, सहकारीलगायत सरोकारवाला निकायको साथ र सहयोग आवश्यक रहेको छ’ उनले भने ।

कोरोनालाई कृषि क्षेत्रको अवसरका रुपमा लिएर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले कोरोना महामारीका कारण अन्य क्षेत्र धरासायी भएपनि कृषि क्षेत्र निरन्तर चलायमान रहेकै कारण खाद्यन्न अभावको अवस्था भोग्नु नपरेको उनले बताए ।

मन्त्री भुषालले कृषि मुलश्च जीवन भन्दै कोरोनाले फेरी पनि कृषि क्षेत्रलाई सम्झाइदिएकोले कृषिलाई अवसरका रुपमा उपयोग गर्नसक्नुपर्ने बताए । साथै कृषिलाई बजारको जिम्मा छोडिदिने विगतको प्रबृत्ति कृषि क्षेत्रको विकासमा बाधक बनेको उनले बताए ।

कृषिविज्ञ डा. कृष्ण पौडेलले नगरी भाषणमात्रै दिने प्रवृत्तिका कारण नेपालको कृषि क्षेत्र अस्तव्यस्त बनेको तर्क गरे । इमान्दारीपूर्णक कृषि क्षेत्रमा आएको बजेट तथा कार्यक्रम कार्यान्वयन गरेमा कृषि क्षेत्रले गति लिने उनको भनाइ छ ।

उनले कृषिमा आत्मनिर्भरताका लागि संरक्षित तथा प्राङगारिक कषिमा जोड दिनुपर्ने बताए । रासायनिक मलको प्रयोगभन्दा प्राङगारिक खेतीबाट बढी उत्पादन लिन सकिने दाबी गर्दै पौडेलले प्राङगारिक कृषिका लागि किसानसम्म सचेतना कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए ।

उनले सरकार समयै सचेत नभएमा कोरोका कारण नेपालका खाद्य संकटको अवस्था आउनसक्ने चेतावनी दिए ।


क्लिकमान्डु