लकडाउनमा कार र बाइक किन्दा छुटैछुट, कुन कम्पनीको कस्तो स्किम ?



काठमाडौं । सरकारले असार १ गतेबाट लकडाउन खुकुलो बनाए पनि सार्वजनिक सवारी साधान भने सञ्चालनमा हुन सकेका छैनन् । तर जोर–बिजोर प्रणाली लागू गर्दै निजी सवारी साधन चलाउन भने छुट दिइएको छ ।

करिब ३ महिनापछि बजार खुल्दा अटोमोबाइल्स कम्पनीले भने निजी सवारी साधन कार र बाइकमा भने छुटको स्मिक सार्वजनिक गर्दै ग्राहक तान्न लागेका छन् । विगतमा विशेष गरी दशैंतिहार र अटो मेलामा मात्र छुटको स्मिक ल्याउने कम्पनीहरुले लकडाउनमै ग्राहक आकर्षित गर्न प्याकेज घोषणा गरेका हुन् ।

पछिल्लो १ साताभित्र मात्रै हुण्डाई, डाट्सन, सुजुकी यामाहा र टीभीएसलगायतका कम्पनीहरुले नयाँ सवारी खरिद गर्ने ग्राहकका लक्षित गरी अफरका स्किम ल्याएका हुन् ।

कुन कम्पनीको कस्तो अफर ?

सुजुकीः  नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले कार किन्ने ग्राहकलाई लक्षित गरी ‘नयाँ सुरुवात’ नामको फाइनान्स स्किम ल्याएको छ । जसमा नगद छुट, न्यूनतम डाउनपेमेन्ट, एक्सचेन्ज र इन्स्योरेन्सका अफर समावेश गरिएको छ ।
जसअन्तर्गत ग्राहकले न्यूनतम ३ लाख ७९ हजार ९०० रुपैयाँ डाउनमेपेन्टदेखि सुजुकीका पेसेन्जर कार र २ लाख ९९ हजार ७५० रुपैयाँ डाउनपेमेन्टदेखि सुजुकीका कमर्सियल कार खरिद गर्न सक्नेछन् ।

त्यस्तै, डाउनपेमेन्टमा सुजुकीका पेसेन्जर कार खरिद गर्दा मात्र १३ हजार ९१३ रुपैयाँदेखि र कमर्सियल मोडल खरिद गर्दा ९ हजार ७३४ रुपैयाँदेखि मासिक किस्ता तिरे पुग्ने कम्पनीले जानकारी दिएको छ ।

साथै कम्पनीले फाइनान्स सुविधाका साथै अधिकतम २ लाख २५ हजार रुपैयाँसम्म आकर्षक नगद छुट, अधिकतम २ लाख रुपैयाँ एक्सचेन्ज भ्यालुएसन र १ वर्षको इन्स्योरेन्सको व्यवस्था समेत गरेको छ । सुजुकीका मोडेल अनुसार नगद छुट, एक्सचेन्ज भ्यालुएसन र इन्स्योरेन्सका लागू हुनेछ । कम्पनीले आफ्ना ग्राहकलाई कोभिड–१९ को महामारीबाट सुरक्षित बनाउनका लागि सो स्कीमले मद्दत विश्वास लिएको छ ।

यसैगरी, सुजुकीको दुईपांग्रे सवारीमा पनि अफर सार्वजनिक भएको छ । नेपालका लागि सुजुकीका दुईपांगे्र सवारीको आधिकारिक डिलर बिशाल ग्रुप भिजी सुजुकीले नगद, एक्सचेन्ज डाउनपेमेन्टमा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई १५ हजार रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ । कम्पनीले आवश्यकताअनुसार ग्राहकलाई डेलिभरीको समेत व्यवस्था गरेको छ ।

हुण्डाई: हुण्डाई मोर्टसको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल (लक्ष्मी हुण्डाई) ले हाल कोविड–१९ ले ल्याएको चुनौतीसँग सामना गरी अघि बढ्न हिम्मत र हौसला प्रदान गर्नका लागि विशेष प्याकेजको सुरुवात गरेको बताएको छ ।

कम्पनीले पहिलो वर्षको मासिक बैंक किस्तामा ५० प्रतिशतको साथ दिने जनाएको छ । ग्राहकहरुले आकर्षक नगद छुट, एकवर्षको निःशुल्क बीमा, सडककरका साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको पनि व्यवस्था गरेको छ । यससँगै ४ वर्षको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि उपलब्ध गराएको छ ।

टाटा: टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ तथा स्टकमा रहेका विभिन्न मोडलका गाडीमा अधिकतम २ लाख रुपैयाँसम्म नगद छुटको योजना ल्याएको छ । अनलाइनमार्फत् गाडी बुकिङ गर्ने ग्राहकले एकवर्षसम्म निःशुल्क सर्भिसिङ, मोबिल र आयल फिल्टरलगायत प्राप्त गर्न कम्पनीले जनाएको छ ।

यसका साथै, कम्पनीले कोरोना भाइरसको जोखिमका समयमा पनि सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई मध्यनजर गर्दै डाक्टरहरुलाई थप ५० हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ ।

ड्याट्सन:  नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प ‘बाइ नाओ पे इन २०२१’ योजना प्रस्तुत गरेको छ । योजना अन्तर्गत ग्राहकले गाडी किनिसकेपछि ६ महिना अवधिसम्म कुनै पनि ईएमआई तथा ब्याज तिर्नुपर्ने छैन । उक्त अवधिको सम्पूर्ण दायित्व कम्पनिले बेहोर्ने छ । साथमा आकर्षक नगद छुट उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

गाडी खरिदमा गाडीका विभिन्न एक्सोसरिजहरु पाउनुका साथै १ वर्षको निःशुल्क इन्स्योरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा, १ वर्षसम्मको सडक कर यो योजना अन्तर्गत उपलब्ध रहनेछ । अफर स्टकको उपलब्धतासम्म रहने र यसमा केही सर्तहरु लागु हुने कम्पनीले जनाएको छ ।

फक्सवागन: फक्सवागन गाडीको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले पोलो ट्रेण्डलाइन खरिद गर्ने ग्राहकका लागि विशेष योजना ल्याएको छ । कम्पनीले १ हजार सीसीको पोलो ट्रेण्डलाइन खरिद गर्ने ग्राहकलाई २ लाख ५० हजार रुपैयाँ नगद छुट दिएको छ । साथै मासिक १० हजार रुपैयाँ डाउनपेमेन्टमा नै गाडी खरिद गर्न सकिने व्यवस्था कम्पनीले गरको छ ।

हाल बजारमा उक्त गाडीको मुल्य २९ लाख ४५ हजार रुपैयाँ तोकिएको छ । एकमुष्ठ नगदमा गाडी खरिद गर्ने ग्राहकले असार १५ गतेसम्म २६ हजार ९५ रुपैयाँमा नै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसैगरी डाउनपेमेन्टमा गाडी खरिद गर्न चाहने ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट तिरेर एक वर्षसम्म मासिक १० हजार रुपैयाँ किस्ता तिर्न सक्ने कम्पनीले जनाएको छ ।

गाडी खरिद गर्दा ६ वर्षका लागि २९ लाख ४५ हजार फाइनान्सिङ हुन्छ । त्यसमा ५० प्रतिशत डाउनपेमेन्ट हुँदा १४ लाख ७२ हजार ५ सय रुपैयाँ रुपैयाँ ११ प्रतिशत ब्याजदरमा ६ वर्षको अवधिमा तिर्नुपर्ने हुन्छ ।

जसको मासिक किस्ता २८ हजार रुपैयाँ पर्न जान्छ । असार १५ गतेसम्म गाडी खरिद गर्ने ग्राहकलाई १ वर्षसम्म १८ हजार रुपैयाँ किस्ता कम्पनीले ब्याहोर्ने र १ वर्षसम्म ग्राहकले १० हजार रुपैयाँ मात्र किस्ता तिर्नुपर्ने व्यवस्था छ । यसका साथै कम्पनीले एकवर्षसम्मको सडककर, ४ वर्षसम्म सर्भिसिङ र निुशल्क होमडेलिभरीको समेत व्यवस्था गरेको छ ।

यामाहा: यामाहाले ‘असहज परिस्थितिको सहज सावधान तपाईंको सुरक्षामा हाम्रो साथ’ स्लोगनका साथ १० हजार नगद छुट र शून्य प्रतिशत ब्याजदर, शुन्य प्रतिशत डाउनपेमेन्टको २ महिने योजना सार्वजनिक गरेको छ ।कम्पनीका अनुसार साउन मसान्तसम्म मुलुकभर रहेका यामाहामा आधिकारिक शोरुमबाट यामाहाको मोटरसाइकल र स्कुटर एकमुष्ठ नगदमा खरिद गर्दा ग्राहकले १० हजार रुपैयाँको छुट पाउने छन् । यसका साथै, शून्य प्रतिशत ब्याजदर, शुन्य प्रतिशत डाउनपेमेन्टको २ महिने योजना पनि मुलकभरका यामाहाको शोरुमबाट उपलब्ध भइरहको छ ।

यस योजना अन्तर्गत शुन्य प्रतिशत डाउनपेमेन्टमा यामाहाको बाइक र स्कुटर खरिद गर्ने चाहने ग्राहकले १७ प्रतिशत ब्याजदर ३६ महिनामा सम्पूर्ण किस्ता भुक्तानी गर्नुपर्ने हुन्छ । तर ग्राहकले शून्य प्रतिशत डाउनपेमेन्टका लागि कुनै पनि आधिकारिक कम्पनीको ग्यारेन्टी बसेपछि मात्र सो सुविधा उपयोग गर्न पाउँछ ।

यसैगरी शून्य प्रतिशत ब्याजदरमा यामाहाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ । जसमा ग्राहकले १२ महिनाभित्र सम्पूर्ण किस्ता भुक्तानी गरिसक्नु पर्ने हुन्छ ।

टिभीएस: नेपालमा टिभिएस नेपालले ‘सुरक्षित यात्राको सुरक्षित सुरक्षित सहयात्री, भीडभाडमा यात्रा छोड्नुस्, आफ्नै टिभिएसको साथ परिस्थितिको सामाना गर्नुस्’ नामक स्लोगनका साथ लकडाउनबीच अफर प्याकेज सार्वजनिक गरेको छ ।

टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मोटर साइकलमा १२ हजार र स्कुटरमा १० हजार नगद छुट र शून्य प्रतिशत ब्याजदर, शुन्य प्रतिशत डाउनपेमेन्टको १ महिने योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार असार मसान्तसम्म मुलुकभर रहेका टिभीएसका आधिकारिक शोरुमबाट यामाहाको मोटरसाइकल र स्कुटर एकमुष्ठ नगदमा खरिद गर्दा ग्राहकले तोकिएको नगद छुट पाउने छन् । यसका साथै, शून्य प्रतिशत ब्याजदर, शुन्य प्रतिशत डाउनपेमेन्टको १ महिने योजना पनि मुलकभरका टिभीएसको शोरुमबाट उपलब्ध भइरहको छ ।

यस योजनाअन्तर्गत शुन्य प्रतिशत डाउनपेमेन्टमा टिभीएसको बाइक र स्कुटर खरिद गर्ने चाहने ग्राहकले शून्य प्रतिशत ब्याजदर १२ महिनामा सम्पूर्ण किस्ता भुक्तानी गर्नुपर्ने हुन्छ । तर ग्राहकले शून्य प्रतिशत डाउनपेमेन्टका लागि सरकारी कर्मचारी वा कम्तीमा ७/८ वर्ष अगाडि स्थापना भएको कुनैपनि आधिकारी कम्पनीमा ३ वर्षअघिबाट कार्यरत कार्मचारीलाई मात्र संस्थाकोे ग्यारेन्टीमा सो सुविधा उपयोग गर्न पाउँनेछन् ।

यसैगरी शून्य प्रतिशत ब्याजदरमा टिभीएसको बाइक र स्कुटर खरिद गर्ने ग्राहकले ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार यो योजनामा ग्राहकले २४ महिनाभित्र किस्ता भुक्तानी गरी सक्नुपर्नेछ । जसमा ग्राहकले पहिलो ४ महिना मासिक ९९ रुपैयाँ मात्र तिरे पुग्ने र बाँकी रहेको २२ महिनाभित्र १७.५ प्रतिशत ब्याजदरमा सम्पूर्ण किस्ता भुक्तानी गरिसक्नुपर्ने हुन्छ ।


क्लिकमान्डु