विदेशमा रहेका नेपालीको उद्दार गर्न आइएमओ इच्छुक



काठमाडौं । संयुक्त राष्ट्र संघअन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्दारका लागि सहयोग गर्न इच्छुक रहेको बताएकी छिन् ।

कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकको समस्यालाई लिएर गैरआवासीय नेपाली संघले संयुक्त राष्ट्र संघमा गरेको छलफलमा यस्तो बताएकी हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीका अनुसार राष्ट्र संघअन्तरगतको इन्टरनेश्नल अर्गनाइजेशन फर माइग्रेसन (आइएमओ) सँगको छलफल लान्डाले उक्त कुरा बताएकी हुन् ।

लान्डाले कोरोना भाइरसको संक्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ्ग सेन्टरसम्म लैजानसमेत सहयोग गर्न सकिने बताएकी छिन् ।

आइएमओले विश्वभरिका माग्रेन्ट श्रमिकका लागि सहयोग गर्दै आएको स्मरण गर्दै उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

संघका महासचिव डा. हेमराज शर्माले संघको भूमिका र कोरोनाको प्रभावमा परेका नेपालीका बारेमा जानकारी गराएका थिए । उनले संयुक्त राष्ट्रसंघका सबै पक्षलाई सहयोगको लागि आग्रह गरेका थिए । झन्डै ८० लाख नेपाली विदेशमा रहेको बताउँदै डा. शर्माले आइएमओ र संघबीच धेरै समान अजेन्डा रहेको बताए ।

उनले आइएओसँग नेपाल फर्किएका श्रमिकको पुनस्र्थापना, कार्य क्षमता संकलन लगायत अन्य धेरै विषयमा संयुक्त रुपमा काम गर्न सकिने बताए ।

बैठकमा सांसद गंगालाल तुलाधारले कोरोनाले नेपालमा पारेको प्रभावको विषयमा जानकारी गराए ।
गैरआवासीय नेपाली संघका अनुसार आइएमओ प्रमुख लान्डाले तत्काल दुई संस्थाबीच समाधान धारणा तय गरी सम्झौता (एमओयु) गरेर अघि बढ्न सकिने बताइन ।

नेपालले सन् २००६ मा इन्टरनेश्नल अर्गनाइजेशन फर माईग्रेसनको सदस्यता लिएपछि संस्थाले सन् २००७ देखि नेपालमा आप्रवासीहरुको हक र हितको लागि सक्रिय छ । आइएमओले नेपालमा २०७२ मा भूकम्प गएको बेला देशका विभिन्न भागमा स्वास्थ्य शिविर सञ्चालन गरेर पीडितलाई सहयोग गरेको थियो ।


क्लिकमान्डु