दायित्व वहन गर्न नसक्ने भन्दै सानिमा जनरल इन्स्योरेन्स कोरोना बीमाबाट बाहिरियो



काठमाडौं । कोरोना बीमा पूलबाट सानिमा जनरल इन्स्योरेन्स बाहिरिने भएको छ । भबिष्यमा जोखिमको दायित्व बढी हुने र सो दायित्व वहन गर्ने क्षमता कम्पनीको नभएको भन्दै सनिमा इन्स्योरेन्सले बिमक संघमा पूलबाट बाहिरीन पत्र पठाएको हो ।

पछिल्लो पटक समितिबाट सञ्चालनको अनुमति पाएर निर्जीवन बीमा बजारमा व्यवसाय गरिरहेको सनिमाले कम्पनी नयाँ भएको र पुँजी अनुसार कोरोनाको दायित्व बहन गर्न नसक्ने कारण खुलाई पूलबाट बाहिरीन बुधबार नै पत्रचार संघमा गरेको थियो ।

सानिमाले पूलबाट बाहिरीन प्रत्रचार गरेपछि संघले सो पत्र बीमा समितिमा पेश गर्ने तयारी गरेको बिमक संघका एक अधिकारीले बताए ।

‘कम्पनीले औपचारीक रुपमा नै पूलबाट बाहिरीने भनिसकेको छ,’ उनले क्लिकमाण्डूसँग भने ‘कम्पनीले गरेको प्रस्तावलाई समितिमा पेश गर्ने तयारी भइरहेको छ ।’ सनिमा मात्र नभएर सबै बीमा कम्पनीहरु कोरोना बीमाको पूलबाट बाहिरीन चाहेको उनले जानकारी दिए ।

‘संक्रमण बढी रहेको छ, बीमा गराउनेको संख्या पनि सोही अनुसार बढ्दो छ,’ अधिकारी भन्छन् ‘पूलमा नै रहेर पनि अब थप कोरोना बीमा गराएर त्यसको दायित्व वहन गर्ने क्षमता कम्पनीहरुमा छैन् ।’ हालमम्म भएको कोरोना बीमाको दायित्व भने कसले र कुन ढाँचामा लिने त्यसमा छलफल भइरेहको उनले बताए ।

कुनैपनि बीमा लेख जारी गर्नुभन्दा अघि विदेशी पुर्नबीमा कम्पनीसँग प्रारम्भिक रिइन्स्योरेनस सम्झौता गरेको हुनु पर्ने बीमा ऐनमा उल्लेख गरिएको छ । तर अन्तराष्ट्रिय बीमा परिवेशमा महामारीको बीमा नहुने भएकाले समितिले कोरोना बीमा लेख जारी गर्न बीमा पूलको प्रयोग गरेको थियो ।

जस अनुसार कोरोना बीमाको दायित्व २० प्रतिशत नेपाल पुर्नबीमा कम्पनीले र बाँकी ८० प्रतिशत २० वटै निर्जीवन बीमा कम्पनीले बहन गर्नु पर्ने हुन्छ । यसरी पूल अन्तर्गत रहेर बीमाको दायित्व बहन गर्दा एक कम्पनी बराबर कुल बीमा जोखिमको ४ प्रतिशत दायित्व वहन गर्नुपर्ने जिम्मेबारी हुन्छ ।

गत बैशाख ४ गतेबाट बीमा समितिले बिमक संघको सम्वज्यमा जारी गरेको कोरोना बीमा लेख अन्तर्गत हालसम्म करिब ३ लाख जनाले १६ करोड २२ लाख रुपैयाँ बढीको बीमा गराइसकेका छन् । जसमा सानिमा इन्स्योरेन्सले मात्र ६ हजार ८ जनाको कोरोना बीमा गराएर ४३ लाख ८३ हजार २० रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

करिब २ वर्ष अगाडि सञ्चालनमा आएको सानिमाको चुक्ता पूँजी ७० करोड रुपैयाँ, जगेडा कोषमा ४ करोड २१ लाख रुपैयाँ र बीमा कोषमा ४ करोड ४१ लाख रुपैयाँ रहेको छ ।


क्लिकमान्डु