स्वास्थ्य केन्द्रित बजेटः यो वर्षभन्दा आगामी वर्षका लागि २२ अर्ब बढी बजेट विनियोजन



काठमाडौं । कोरोना भाइसरका कारण सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रको बजेट उल्लेख्य मात्रामा बढाएको छ ।

चालू आर्थिक वर्षका लागि ६८ अर्ब ७८ करोड बजेट रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढाएर आगामी आर्थिक वर्षका लागि ९० अर्ब ६९ करोड विनियोजन गरिएको छ । चालु आवकोभन्दा आगामी आवको बजेट २२ अर्ब ९ करोडले बढी हो ।

सरकारले स्वास्थ्य क्षेत्रको पूर्वाधारको लागि १२ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ भने कोरोना संक्रमितहरुको उपचारको लागि ६ अर्ब छुट्याइएको छ ।

स्वास्थ्य क्षेत्रमा कर्मचारीको दरबन्दी पनि बढाउने घोषणा गरेको छ भने संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुक लागि प्रोत्साहन भत्ता र ५ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरिएको अर्थमन्त्रीले जानकारी दिए ।

‘एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम’ कार्यक्रम शुरु गर्न ५ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ भने स्थानीय तहमा थप २ सय ७२ वटा स्वास्थ्य संस्था निर्माण गर्नका लागि १४ अर्ब ७२ करोड रुपैयाँ छुट्याइएको छ ।

त्यसैगरी क्षयरोग, यौन रोग जस्ता रोगहरुको उपचार निदानका लागि ४ अर्ब २२ करोड बजेट विनियोजन गरिएको छ ।

प्रत्येक स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको आधारभूत अस्पताल स्थापना र स्तरोन्नती गरिनुका साथै साविकका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० शय्याको अस्पताल र अञ्चल अस्पताललाई २०० शय्याको जनरल अस्प्तालमा स्तरोन्नती गरिने भनिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्टिय सीमाका प्रमुख नाकाहरुमा आधुनिक हेल्थ डेस्क तथा क्वारेन्टिन गृह स्थापना गरिने छ ।


पुष्प दुलाल