निर्जीवन बीमा कम्पनीको नाफा ५.१७ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको नाफा ५.१७ प्रतिशतले बढेको छ ।

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीमध्ये १८ वटाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब २२ करोड ९६ लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गरेका निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ३९ करोड ६८ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यो अवधिमा समग्रमा १८ वटा कम्पनीको नाफामा सुधार आए पनि केही कम्पनीको नाफामा गिरावट देखिएको छ । यो अवधिमा ११ वटा कम्पनीको नाफामा बढोत्तरी देखिएको छ भने ७ वटा कम्पनीको नाफामा निकै गिरावट देखिएको छ ।

यो अवधिमा सबैभन्दा बढी नाफा प्रतिशतको आधारमा हेर्दा एभरेष्ट इन्स्योरेन्सको २३१.९७ प्रतिशतले बढेको छ । यस्तै अजोड इन्स्योरेन्सको नाफा ३४.६८ प्रतिशतले बढेको छ । यस्तै जनरल इन्स्योरेन्सको ३२.९०, प्रिमियर इन्स्योरेन्सको नाफा २६.७० प्रतिशतले नाफा बढेको छ ।

कम्पनीहरुले प्रकाशित वित्तीय विवरण हेर्दा यूनाइटेड इन्स्योरेन्सको ४३.५७, प्रुडेन्सियल इन्स्योरेन्सको २८.८० प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सको नाफामा १९.३५ प्रतिशतले गिरावट देखिएको छ ।

यो अवधिमा सहकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीको नाफामा पनि निकै गिरावट देखिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको भन्दा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा राष्ट्रिय बीमा कम्पनीको नाफामा ८.६२ प्रतिशतले गिरावट आएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण निर्जीवन बीमा कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणमा केही ढिला भएको थियो । यो अवधिमा निर्जीवन बीमा कम्पनीकोहरुको वित्तीय विवरणमा कोरोनाको असर धेरै नदेखिए पनि आगामी त्रैमासको वित्तीय विवरणमा कोरोनाको असर देखिएको चर्चा शुरु भएको छ ।


क्लिकमान्डु