चाउचाउ र बिस्कुट खाएर बजेट लेख्दै अर्थमन्त्री डा. खतिवडा, दैनिक १६ घन्टा खट्छन्



काठमाडौं । आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक हुन ४ दिन बाँकी छ । त्यसैले पनि यतिबेला अर्थमन्त्री डा. युवराज खतिवडाको व्यस्तता निकै बढेको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्री खतिवडा बिहान ७ बजे मन्त्रालयमा आइपुग्छन् । अनि राति निवास फर्कँदासम्म ११ बजिसक्छ । दुई वटा मन्त्रालय, सरकारको प्रवक्तासँगै कोरोनाले थपिएको चुनौतीलाई व्यवस्थापन गर्न उनलाई हम्मेहम्मे परेको छ ।

सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री खतिवडा बजेट निर्माणका लागि अहिले दैनिक १६ घण्टा मन्त्रालयमा बिताइरहेका छन् । कोरोनाको महामारीले पारेको असरलाई सम्बोधन गर्दै ल्याउनुपर्ने बजेटका बीचमा उनका अगाडि यतिबेला थप चुनौती पनि छ ।

त्यसैगरी विदेशी नियोग तथा निकायसँग गतवर्षसम्म नियमित प्रक्रियामा भएपनि यो वर्ष कोरोनाका कारण त्यसमा थप मेहनत गर्नु परेको छ । ती अधिकारीका अनुसार त्यही समयको चापलाई कम गर्न मन्त्री खतिवडा बिहान ७ बजे नै मन्त्रालयमा आइपुग्छन् ।

खतिवडा शाकाहारी हुन् । त्यसैले मन्त्रालयमा विगतका मन्त्रिले जस्तो पाँचतारे होटलबाट खाजा मगाउँदैनन् । साधारण खाना खान रुचाउने खतिवडाको खान्की चाउचाउ, बिस्कुट र कालो चिया बनेको छ ।

कोरोनाका कारण अर्थमन्त्रालयको क्यान्टिन बन्द छ । जसकारण मन्त्री खतिवडा विद्युतीय जगमा तातोपानी तताउछन् र त्यसैमा चाउचाउ उमालेर राख्छन् ।

स्रोतको अनुसार मन्त्री खतिवडालाई यतिबेला बजेट निर्माणमा समय मिलाउन जति समस्या भएको छ त्यो भन्दा बढी समय राजस्वको स्रोत सुनिश्चिततामा समस्या भएको छ ।

यति हुँदाहुँदै पनि मन्त्री खतिवडा आगामी आवमा कोरोनाको प्रभावलाई न्यून हुनेगरी बजेट निर्माणमा लागेका छन् । बजेट निर्माणमा मन्त्री खतिवडाका साथै बजेट महाशाखा, राजस्व महाशाखा, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा, बजेट तथा कार्यक्रम महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुखहरु सहभागी छन् ।

आगामी आवको बजेट निर्माणको जिम्मा उनीहरुको काँधमा नै रहेको छ । मन्त्रालय स्रोतका अनुसार यसको संयोजन अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले गरिरहेका छन् । साथै अर्थ सचिव शिशिर ढुंगाना र राजस्व सचिव रामशरण पुडासैनी पनि सहभागी रहेका छन् ।

यस्तै नेपाल राष्ट्र बैंकबाट अर्थमन्त्रालयमा काजमा आएका डा.रामशरण खरेल पनि निर्माण तथा लेखनमा सहभागी छन् । उनले अर्थमन्त्री डा. खतिवडाको सहयोगीको भूमिकामा रहेर डा. खतिवडा मन्त्री भएदेखि नै काम गरिरहेका छन् । डा. खरेल नाताले मन्त्री खतिवडाको छोरी ज्वाई हुन् ।


क्लिकमान्डु