बीमालेख धितोमा लिएको ऋणको ब्याजमा १५ प्रतिशत छुट



काठमाडौं । बीमा कम्पनीहरुबाट बीमालेख धितोमा ऋण लिने बीमितले १५ प्रतिशत ब्याज छुट पाउने भएका छन् । बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै लकडाउन अबधि सकिएको १ महिना भित्रमा ब्याज बुझाउन आएमा १५ प्रतिशत ब्याज छुट दिन निर्देशन दिएको हो ।

बीमितले बीमालेख धितोमा लिएको ऋणको ब्याज प्रत्येक ३ वा ६ महिनामा बुझाउनु पर्ने हुन्छ । तर सरकारले कारोना भाइसरको नियन्त्रणको लागि गरेको लकडाउनको कारण ब्याज बुझाउन नपाएको बीमितले पनि लकडाउन समाप्तीको १ महिनासम्म ऋणको ब्याज भुक्तानी गर्न सकिने र सोमा छुटको व्यवस्था गरिएको छ ।

बीमालेख धितोमा ऋण लिनेहरुले लकडाउन सकिएको १ महिना पछि ब्याज भुक्तानी गर्न गएमा भने सो सहुलियत उपयोग गर्न पाउने छैनन् ।

यस्तै, बीमा कम्पनीहरुले अनलाईनबाटै बीमालेख बिक्री गर्ने चाहेमा ‘बीमकको सुचना प्रविधि मार्गदर्शन, २०७६’ को अधिनमा रहेर बीमालेख अनलाईन बिक्री गर्ने कार्यविधि तयार गरी समितिमा पेश भएर औचित्यको आधारमा स्वीकृत गर्ने जनाएको छ । साथै समितिको अधिनमा रही लकडाउन अवधिभरी बिमकले उपलब्ध गराउने तालिमहरु अनलाईन तथा भच्र्युयल रुपमा गर्न सकिने र उक्त तालिमको सफ्ट कपी सहितको प्रतिवेदन समितिले बीमा कम्पनीहरुले पेश गर्नुपर्ने छ ।


क्लिकमान्डु