नक्कली प्रेसकार्ड बनाएर चोरी गर्ने २ जना पक्राउ



काठमाडौं । नक्कली प्रेस कार्ड बोकी चोरी कार्यमा संलग्न २ जनालाई प्रहरीले निय्रन्त्रणमा लिएको छ ।

महानगरिय अपराध महाशाखाका अनुसार एक टेलिभिजनको नक्कली प्रेस कार्य बनाएर चोरी कार्यमा संलग्न रहेका आश्रय रिजाल हिमाल, हम्मे भन्ने हिमाल रसाईली र अलि आलम मियालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिक–१४ का २१ बर्षीया रसाईली र बारा जिल्ला बड्की फुलबारी गाउँपालिका–३ बस्ने २८ बर्षीय मिया पक्राउ परेका हुन । रसाईली हाल धुम्बाराही र मिया ओमबहाल बस्ने गरेको प्रहरीको भनाई छ ।

प्रहरीले उनीहरुको साथबाट एप्पल कम्पनीको ल्यापटप १ थान, एप्पल कम्पनी कै आईप्याड २ थान, विभिन्न ब्राण्डका मोबाइल ६ थान, प्रोजेक्टर ३ थान, क्यानोन क्यामेरा १ थान, धारिलो हतियार २ थान, बा २७ प ९४९० नम्बरको एभेन्जर मोटर साइकल र प्रेस कार्ड बरामद गरेको छ ।

प्रहरीका अनुसार चैत ३ गते काठमाडौंमा एरियर ५१ ब्याइज होस्टलबाट विभिन्न समयमा ४ थान ल्यापटप, चैत २४ गते चावहिल भत्केको पुल स्थित सुविन मानन्धरको एप्पल म्याक बुक प्रो ल्यापटप र एप्पल आइप्याड हराएको थियो । प्रहरीले उनीहरुलाई चावहिल भत्केको पुलबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीले प्राप्त सिसिटीभी फुटेजलाई अध्ययन गर्दा सिसिटिभीमा देखिएको एभेन्जर मोटरसाइकलमा रहेको उनीहरुलाई सोधपुछ गर्दा एक टेलिभिजनको नक्कली कार्ड देखाएर आफू पत्रकार भनेर उम्कन खोजेको र झोला चेक गर्दा चोरी गरेका सामान र ५३ हजार नेपाली रुपैयाँ, ३ सय अमेरिकन डलर र ३ सय चाईनिज युयान फेला परेको प्रहरीले जानकारी गराएको छ ।


क्लिकमान्डु