कोरोना भाइरसले देश कठिन घडीबाट गुज्रीरहेको छः मन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल निकै कठिन घडीबाट गुज्रीरहेकाे बताएका छन् ।

७३ औं विश्व स्वास्थ्य महासभालाई सम्बोधन गर्दै मन्त्री ढकालले कोरोनाका कारण धेरै जोखिम र अनिश्चितताहरू बढेको बताएका हुन् ।

उनले कोरोना विरूद्ध अंग्रपंक्तिमा रही निरन्तर खटीरहेका स्वास्थ्यकर्मीहरू प्रति आभार व्यक्त गरेका छन् ।

कोभिड लगायत यस्ता संक्रामक रोगहरूको कुनै सीमाना नहुने भन्दै यसले कुनै रंग, समुह र वर्ग बीच विभेद नगर्ने पनि बताए । ‘सबैको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नु हामी सबैको साझा दायित्व हो’ उनले भने ।

नेपालले महामारीको सुरूवात देखि नै उच्च राजनैतिक प्रतिबद्धताका साथ बहुपक्षीय संयन्त्र मार्फत यस विपदको प्रतिकार्य गर्दै आएको जानकारी गराए । नेपालमा संघीय प्रणाली संस्थागत हुँदै गइरहेको अवस्थामा कोभिडको नियन्त्रण र रोकथाममा तीनै तहबाट गरिएका संयुक्त प्रयासहरू सराहनीय रहेको धारणा राखे ।

कोभिड बाट हालसम्म नेपालमा दुइ जनाको ज्यान गएको जानकारी गराउँदै संक्रमितको संख्या केही दिन यता बढ्दो क्रममा रहेको उल्लेख गरे । आउँदा दिनहरू थप चुनौतीपुर्ण रहेको उनको तर्क छ ।

स्वास्थ्य विकासको एक प्रमुख आधार भएको भन्दै स्वास्थ्यमा गरिने लगानीको महत्व र आवश्यकतालाई यस महामारीले थप पुष्टि गरेको बताए । महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीहरूको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको बताए ।

कोरोना नियन्त्रणमा विश्व स्वास्थ्य संगठन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूको भूमिका सराहनीय रहेको बताए । विश्व मानव समुदायको स्वास्थ्य रक्षा गर्न यसले खेलेको ऐतिहासिक भूमिकाको पुनः पुष्टी भएको उनको भनाइ छ ।

कोरोना विरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउदै महामारीका चुनौतीहरूलाई संयुक्तरूपमा सामना गर्न विश्व समुदाय समक्ष आग्रह गरेका छन् ।


क्लिकमान्डु