बैंकका कर्मचारीलाई राष्ट्र बैंकले नयाँ पास दिन थाल्यो, वाणिज्य बैंकलाई २० वटा, अरुलाई कति ?



काठमाडौं । गृहमन्त्रालयले यसअघि जारी भएका सबै पास रद्द गरिसकेपछि बैंकका कर्मचारीलाई राष्ट्र बैंकले नयाँ पास उपलब्ध गराउन थालेको छ ।

जेठ १ गतेदेखि लागू हुने गरी गृहमन्त्रालयले उक्त निर्देशन दिएसँगै उपत्यकाका तीन जिल्लामा सञ्चालित बैंक तथा वित्तीय संस्था सञ्चालनका लागि राष्ट्र बैंकले छुट्टै नयाँ पास दिन थालेको छ ।

राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशन देवकुमार ढकालका अनुसार बैंकका कर्मचारीका लागि नयाँ पास वितरण गर्न शुरु भएको छ ।

‘गृहमन्त्रालयको निर्देशन अनुसार पुरानो पास रद्द भइसकेको अवस्थामा उपत्यकाका तीन वटै जिल्लामा मान्यता हुने गरी लकडाउन अवधिभरीलाई नयाँ पास वितरण शुरु भएको छ,’ उनले भने । अन्य जिल्लामा रहेका बैंकको हकमा स्थानीय प्रशासन तथा राष्ट्र बैंकबाटै पास लिनुपर्नेछ ।

पास रद्द भएपछि खुल्ने भनिएका क्षेत्र सञ्चालन हुन्छन कि हुँदैनन् ? यसो भन्छ गृहमन्त्रालय

उनका अनुसार उपत्यकामा सञ्चालित बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट पास लिएका छन् । जसमा वाणिज्य बैंकहरुले २० वटाका दरले नयाँ पास लिएका छन् । त्यस्तै विकास बैंकले १० वटा, वित्त कम्पनीले ८ वटा र लघुवित्त कम्पनीले ६ वटाका दरले नयाँ पास उपलब्ध गराइएको ढकालले जानकारी दिए ।

बैंकिङ सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले लकडाउनको अवधिमा पनि बैंकले सेवा निरन्तर दिइरहेका छन् ।

त्यस्तै, बीमा कम्पनीहरुको हकमा पनि बीमा समितिले नयाँ पास उपलब्ध गराउन शुरु गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार बीमा कम्पनीलाई आवश्यकता अनुसार पास उपलब्ध गराउन थालेको छ ।

‘सरकारले एक तिहाइ कर्मचारीबाट काम गराउन निर्देशन दिएको छ, समितिले पनि सोही अनुसार नयाँ पास उपलब्ध गराएका छौं,’ उनले भने ।


क्लिकमान्डु