पास रद्द भएपछि खुल्ने भनिएका क्षेत्र सञ्चालन हुन्छन कि हुँदैनन् ? यसो भन्छ गृहमन्त्रालय



काठमाडौं । सरकारले जेठ १ गते बिहीबारदेखि लागू हुने गरी यसअघि जारी गरिएका सबै सवारी पास रद्द गर्यो । साथै एक जिल्लाबाट अर्को जिल्लामा पनि जान बन्देज गर्यो ।

सबै पास रद्द गरिसकेपछि के अब मन्त्रिपरिषद्ले गत साता गरेको निर्णय अनुसार ४४ वटा सञ्चालन गर्ने भनिएको क्षेत्रहरु खुल्छन कि खुल्दैछनन् भन्ने अन्योल छ ।

यस विषयमा गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषदले गरेका सबै क्षेत्र सञ्चालन हुने र ती सञ्चालनमा कुनै असर नपर्ने बताए ।

साथै यसअघि जारी भएका सबै पास रद्द भए पनि अब नयाँ पास लिनु पर्ने भएको छ । यसका लागि नयाँ पास जिल्ला प्रशासन कार्यालयबाट जारी हुनेछ भने अन्य संस्थाको हकमा नियमनकारी निकायबाट जारी भएका पास मान्यता हुनेछ ।

उद्योग तथा प्रतिष्ठानका लागि आवश्यक पर्ने कच्चा पदार्थ, उत्पादित वस्तु तथा कामदार ल्याउन र लैजानका लागि निश्चित उद्देश्यका लागि तोकिएको पास उपलब्ध गराइने छ । उक्त पास जुन प्रयोजनका लागि उपलब्ध गराइएको हो सोही प्रयोजनका लागि मात्रै प्रयोग गर्न पाइनेछ ।

लकडाउनको अवधिमै पनि सञ्चालित सेवाका लागि सम्बन्धित संस्थाबाटै पास उपलब्ध हुनेछ । बैंकहरुका लागि राष्ट्र बैंक तथा उद्योगका लागि उद्योग विभागले नै पास उपलब्ध गराउने छ । त्यस्तै, बीमा कम्पनीका लागि बीमा समितिले नै पास उपलब्ध गराउनेछ भने धितोपत्र बजारसँग सम्बन्धित कर्मचारीका लागि बोर्डले नै पास उपलब्ध गराउनेछ ।

बैंकका कर्मचारीलाई राष्ट्र बैंकले नयाँ पास दिन थाल्यो, वाणिज्य बैंकलाई २० वटा, अरुलाई कति ?

राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशन देवकुमार ढकालका अनुसार बैंकका कर्मचारीका लागि नयाँ पास वितरण गर्न शुरु भएको छ ।

‘गृहमन्त्रालयको निर्देशन अनुसार पुरानो पास रद्द भइसकेको अवस्थामा उपत्यकाका तीन वटै जिल्लामा मान्यता हुने गरी लकडाउन अवधिभरीलाई नयाँ पास वितरण शुरु भएको छ,’ उनले भने । अन्य जिल्लामा रहेका बैंकको हकमा स्थानीय प्रशासन तथा राष्ट्र बैंकबाटै पास लिनुपर्नेछ ।

उनका अनुसार उपत्यकामा सञ्चालित बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट पास लिएका छन् । जसमा वाणिज्य बैंकहरुले २० वटाका दरले नयाँ पास लिएका छन् । त्यस्तै विकास बैंकले १० वटा, वित्त कम्पनीले ८ वटा र लघुवित्त कम्पनीले ६ वटाका दरले नयाँ पास उपलब्ध गराइएको ढकालले जानकारी दिए ।

बैंकिङ सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले लकडाउनको अवधिमा पनि बैंकले सेवा निरन्तर दिइरहेका छन् ।

त्यस्तै, बीमा कम्पनीहरुको हकमा पनि बीमा समितिले नयाँ पास उपलब्ध गराउन शुरु गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार बीमा कम्पनीलाई आवश्यकता अनुसार पास उपलब्ध गराउन थालेको छ ।

‘सरकारले एक तिहाइ कर्मचारीबाट काम गराउन निर्देशन दिएको छ, समितिले पनि सोही अनुसार नयाँ पास उपलब्ध गराएका छौं,’ उनले भने ।


क्लिकमान्डु