नाफामा ठूलो असर पर्न नदिन बैंकको चलाखी: १३ बैंकको स्प्रेड दर ५% माथि, कस्को कति ?



काठमाडौं । कोरोना भाइरसको असरका कारण आम्दानीमा कटौति भएपछि बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर (स्प्रेड दर) बढाएका छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये ०७६ चैत मसान्तमा १३ वटाको स्प्रेड दर ५ प्रतिशतभन्दा बढी छ । राष्ट्र बैंकको निर्देशन अनुसार स्प्रेड दर ४.५० प्रतिशतभन्दा बढी हुनु हुँदैन ।

तर, राष्ट्र बैंकले गत चैत १६ गते कोरोना प्रभावितलाई पहिलो चरणको राहत प्याकेज घोषणा गर्दै बैंकहरुलाई पनि केही सहुलियत दिएको थियो ।

वाणिज्य बैंकहरुको नाफा साढे ४५ अर्ब बढी, कुन बैंककाे कति ?

‘वित्तीय प्रणालीमा समग्ररुपमा परेको प्रभावलाई मध्यनजर गरी २०७६ चैत महिनामा अनुपालन गर्नुपर्ने नियामकीय/शुपरिवेक्षकीय अनुपातहरु अनुपालना नभएको खण्डमा कुनै हर्जना लगाइने छैन,’ राष्ट्र बैंकले भनेको छ ।

यसरी तोकिएको भन्दा बढी स्प्रेड दर भए पनि राष्ट्र बैंकले कारबाही नगर्ने भएपछि बैंकहरुले नाफामा ठूलो असर पर्न नदिने चलाखी गरेका हुन् । व्याजदर घटाउनुपर्ने तीब्र दबाबमा रहेका बैंकहरुले स्प्रेड दर बढाएर त्यसको घाटा पूर्ति गर्ने रणनीति अबलम्बन गरेको देखिन्छ ।

चैत मसान्तमा सबैभन्दा बढी स्प्रेड दर माछापुच्छ्रे बैंकको (५.४१ प्रतिशत) छ । गत वर्षको यसै अवधिमा बैंकको स्प्रेड दर ४.२७ प्रतिशत थियो । त्यसयता लगातार बढाइरहेको छ ।

दोस्रो धेरै स्प्रेड राख्ने बैंक हो नविल । चैत मसान्तमा नविलको ५.३२ प्रतिशत छ । गत वर्षको यसै अवधिमा बैंकको स्प्रेड दर ४.४३ प्रतिशत थियो । नविलले पनि त्यसयता लगातार बढाइरहेको छ ।

चैत मसान्तमा तेस्रो धेरै स्प्रेड राख्ने बैंक हुन् स्ट्यान्डर्ड चार्टर्ड र प्रभु । यी दुबैको स्प्रेड दर ५.३२ प्रतिशत छ । गत वर्षको यसै अवधिमा प्रभुको ४.८८ प्रतिशत र चार्टर्डको ४.४५ प्रतिशत थियो ।

स्प्रेड धेरै राख्ने पाँचौं नम्बरमा मेगा बैंक छ । ०७६ चैत मसान्तमा ५.२२ प्रतिशत स्प्रेड राखेको छ । गत वर्षको यसै अवधिम यस्तो दर ४.७३ प्रतिशत थियो ।

त्यस्तै ग्लोबल आइएमइले ५.१८ प्रतिशत, एसबिआईले ५.१५ प्रतिशत, एभरेष्टले ५.१३ प्रतिशत, एनसीसी र सानिमाले ५.०८ प्रतिशत, हिमालयनले ५.४ प्रतिशत, इन्भेष्टमेन्टले ५.१ प्रतिशत र सिदार्थले ५ प्रतिशत स्प्रेड राखेका छन् । गत वर्षको यसै अवधिमा क्रमशः ४.६३, ४.८०, ४.६९, ३.१७, ५.६५, ४.५०, ४.२४ र ४.१५ प्रतिशत थियो ।

सबैभन्दा कम स्प्रेडदर राख्ने बैंक हो सिभिल । यो बैंकले ०७६ चैत मसान्तमा ४.०९ प्रतिशत स्प्रेड राखेको छ । गत वर्षको यसै अवधिमा यस्तो दर ३.३८ प्रतिशत थियो ।

कम स्प्रेड राख्ने दोस्रो बैंक हो लक्ष्मी । लक्ष्मीले ०७६ चैत मसान्तमा ४.३४ प्रतिशत स्प्रेड राखेको छ । गत वर्षको यसै अवधिमा यस्तो दर ४.१९ प्रतिशत थियो ।

०७५ चैतमा ५.६१ प्रतिश स्प्रेडदर भएको कृषि विकास बैंकले ०७६ चैतमा घटाएर ४.४२ प्रतिशतमा झारेको छ भने नेपाल बैंकले पनि ५.५० प्रतिशत रहेको स्प्रेडलाई ४.४९ प्रतिशतमा झारेको छ । यी २ बैंकबाहेक सबैले ०७५ चैतको तुलनामा ०७६ चैतमा स्प्रेडदर बढाएका छन् ।

Bank Chaitra  2076 Poush  2076  Ashad 2076  Chaitra 2075
CIVIL 4.09% 4.90% 3.76% 3.38%
Laxmi 4.34% 4.23% 4.37% 4.19%
Agricultural Development 4.42% 5.29% 4.68% 5.61%
Nepal Bank 4.49% 4.44% 4.99% 5.50%
Prime 4.64% 5.11% 4.32% 3.71%
Kumari 4.65% 4.37% 3.54% 3.61%
Rastriya Banijya 4.70% 5.53% 4.46% 4.70%
Century 4.77% 4.76% 4.20% 3.96%
BoK 4.80% 5.03% 4.98% 4.28%
Citizens 4.85% 4.58% 3.15% 4.56%
Sunrise 4.86% 5.14% 4.44% 4.37%
Nepal Bangladesh 4.88% 4.80% 4.64% 4.71%
NMB 4.88% 5.03% 4.26% 4.33%
NIC 4.92% 5.02% 4.41% 4.96%
Siddhartha 5.00% 5.17% 4.07% 4.15%
Nepal Investment 5.01% 5.16% 4.38% 4.24%
Himalayan 5.04% 5.32% 4.47% 4.50%
Sanima 5.08% 5.04% 4.35% 5.65%
NCC 5.08% 5.18% 4.70% 3.17%
Everest 5.13% 5.33% 4.29% 4.69%
Nepal SBI 5.15% 5.22% 4.43% 4.80%
Global IME 5.18% 5.31% 4.47% 4.63%
Mega 5.22% 5.60% 4.73% 4.73%
Prabhu Bank 5.32% 4.83% 4.70% 4.88%
Standard Chartered 5.32% 5.93% 5.58% 4.45%
Nabil 5.34% 4.99% 4.45% 4.43%
Machapuchre 5.41% 5.24% 5.18% 4.27%


पुष्प दुलाल