संसदलाई बैंकर्स संघको ब्रिफिङः बुझेका गभर्नरबाट संसारमै नभएको निर्देशन आउनु गलत



काठमाडौं । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याज घटाउनु भनेर दिएको निर्देशन गलत भएको बताए ।

संघीय संसदको अर्थ समितिले कोरोनापछि बैंकिङ क्षेत्रमा परेको असरको विषयमा आयोजित छलफलमा यस्तो विश्वमा नै नभएको व्यवस्था राष्ट्र बैंकले गरेको बताए । अहिले राष्ट्र बैंकले २ प्रतिशत ब्याजदर घटाउ भन्ने निर्देशन आएको छ ।

‘यस्तो निर्देशन विश्वका कुनै पनि केन्द्रिय बैंकले दिँदैनन्, त्यो चीज गलत भयो,’ अध्यक्ष दाहालले भने ।

संसारभरका कुनै पनि केन्द्रिय बैंकले नभनेको कुरा राष्ट्र बैंकले भनेकोले यसलाई हटाउन राष्ट्र बैंकलाई आग्रह गरेको बताए ।

उनले भने,- ‘राष्ट्र बैंकले २ प्रतिशत राहत दिनुपर्छ भन्नु गलत छ । हामीले कमाउनु पर्छ, अरुले कमाउनु हुँदैन भन्ने पक्षमा हामी छैनौं । हामीभन्दा बढी कमाउनेलाई राहत नै हामीले दिने होइन । नोक्सानमा भएकालाई राहत दिने हो । संसारको कुनै पनि केन्द्रिय बैंकले यसरी ब्याज घटाउनु भनेर निर्देशन दिएको हामीले पढ्दा पनि पाएका छैनौं । यो स्पेनिश फ्लुपछि आएको हो कि भनौं भने अन्य मुलुकमा पनि यस्तो व्यवस्था रहेनछ ।’

अहिले धेरै नै बैंकिङ क्षेत्र बुझेको गभर्नर आएकाले यो व्यवस्था हट्नेमा आशावादी रहेको बताए । बैंकहरु धेरै नाफा कमाउने भन्दा पनि आफुपनि बाँचौं अरुलाईपनि बचाऔं भन्ने मान्यतामा रहेको जानकारी गराए ।

हामीले नोक्सानमा भएकालाई बेसरेटमा र ठूला उद्योग व्यवसायीलाई बेसरेटमा १ प्रतिशत थपेर दिने पनि लिखित जानकारी गराएको बताए ।

ग्राहकलाई कम ब्याजदरमा ऋण दिन इच्छुक भएपनि राहत त आहत हुनेले मात्रै पाउनु पर्ने उनको तर्क छ । राम्रो प्रतिफल पाउनेलाई राहत दिन नहुने उनको तर्क छ ।

अहिलेको अवस्थामा बेसरेटमा कर्जा दिँदा पनि नोक्सान हुने बताए । लोनलस प्रोभिजन र १५ प्रतिशत खर्च नजोडिएको कारण घाटा हुने बताए ।

बैंकिङ क्षेत्रले राष्ट्र बैंकलाई कोरोनाका कारण असर परेको उद्योगलाई बेसरेटमा कर्जा दिने जानकारी गराएको बताए । १ करोड भन्दा कम ऋण लिने ऋणीहरुलाई ३ महिनामात्रै नभएर लामो समयको लागि बेस रेटमा नै ऋण दिनुपर्ने बताए । साना तथा मझौला उद्योगलाई प्राथमिकतामा राखेको बताए ।

बैंकर्स संघमा भएको छलफलका क्रममा साना र ठूलालाई वर्गिकरण गर्न राष्ट्र बैंकलाई सूझाव दिएको उनको भनाइ छ ।

अहिले व्यवसायीहरुले ५ प्रतिशतमा झार्नुपर्छ भनेपनि सरकारले अनुदान दिए हुने नभए सम्भावना नहरेको उनले बताए ।

सरकाले अनुदान दिनको लागि पनि सरकारसँग कति रकम छ भन्नेमा पनि छलफल आवश्यक रहेको उनको भनाइ छ ।

बैंकिङ क्षेत्र नाफामुखी भएको र बैंकले धेरै नाफा कमायो भनेपनि अहिले बैंकले १०० रुपैयाँ लगानी गरेर १५ रुपैयाँ मात्रै कमाउने उनको भनाइ छ ।

उनले भने ‘कुनै बैंकले ६/७ रुपैयाँ पनि होला । कुनैको २७/ २८ पनि होला । तर ३० रुपैयाँ बढी कमाउने कुनै बैंक छैनन् । औषतमा १५ प्रतिशत छ ।’

७ वर्षअघि बैंकको औषत आम्दानी १०० रुपैयाँमा २५ रुपैयाँ आम्दानी भएपनि अहिले १५ रुपैयाँमा झरेको उनको दाबी छ ।

अहिले गाउँमा बैंक पुगेकोले त्यहाँ बीमालगायतका संस्था पठाउनुको सट्टा बैंक नै पठाउन सकेको खण्डमा धेरै लाभ हुने बताए ।

अहिले १ करोडको व्यवसाय गर्ने भन्दा बैंकमा लगानी गर्ने थोरै रहेको उनको दाबी छ । १० जना ठुला लगानीकर्ता रहेपनि धेरै चाँही साना लगानीकर्ता नै रहेको उनको तर्क छ । अहिले वित्तीय विवतरण हेर्दा बैंककोभन्दा व्यवसायीको बढी नाफा रहेको दाहालको तर्क छ । उनले भने ‘हाम्रो खर्च बढी छ, सिईओको, कर्मचारीको तलब सार्वजनिक हुन्छ । बैंकको कण्टअफ अपरेशसन बढी रहेको छ ।’

अहिले बैंककोभन्दा राष्ट्र बैंकका कर्मचारीको तलब ३ गुणा बढी रहेको छ । यसको अध्ययन भइरहेको र त्यो रिपोर्ट सिएले सर्टिफाइड गरेपछि सार्वजनिक गर्ने बताए ।

उनले बैंकको अहिले वितरणयोग्य नाफा घटेको भन्दै बैंक बचेको खण्डमा मात्रै समग्र अर्थतन्त्र पनि बच्ने बताए ।

अहिले बैंकको ब्याज तिर्न सक्नेले पनि नियामकले असार मसान्तसम्म तिरे हुन्छ भनेपनि ऋण तिर्न आनाकानी गरेको बताए ।
राष्ट्र बैंकले विदेशबाट ऋण लिन पाउने व्यवस्था गरेपनि ब्याजमा लाग्ने १५ प्रतिशत ब्याज कर लगाएको भन्दै उक्त ब्याजकर नलगाउन आग्रह गरेको बताए । अहिले बैंकहरुले रिनुअल शुल्क पनि नलिने जानकारी गराए ।

उनले बजेटमा हामीले के चाहियो भन्ने कुनै माग नभएको र बैंकिङ क्षेत्रले के गर्न सक्छौं भनेर सोधी रहेको बताए ।


पुष्प दुलाल