अर्थमन्त्रीलाई गगन थापाको प्रश्न- विदेशबाट फर्किने युवाका लागि खोइ ठोस योजना ?



काठमाडौँ ।  नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद गगनकुमार थापाले कोरोनाका कारण सिर्जित  अवसरलाई उपयोग गर्ने संकल्प, साहस र सृजनात्मकता सरकारले देखाउन नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा आज पूर्व बजेट छलफलमा भाग लिदैँ उनले अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको प्रस्तावमा नयाँपन केही नभेटिएको बताए । नव प्रबर्द्धको माैकामा डिजिटल गराउने असरतर्फ पनि सरकारको पट्क्कै ध्यान नभएको  थापाको भनाइ  थियो ।

अर्थमन्त्री खतिवडाले करको दायर बढाउने पुरानै सिद्धान्तलाई आधार मानेको भन्दै उनले सार्वजनिक खर्च घटाउने यस्तो अवसर आउँदा पनि अर्थमन्त्रीले साहस गर्न नसकेको टिप्पणी गरे ।

विदेशबाट फर्किन लागेर र स्वदेशमै पनि बेरोजगार भएका लाखौ नेपालीका लागि अर्थमन्त्री खतिवडाले ठोस कुनै योजना ल्याउने छाटकाँट नदेखाएको भन्दै थापाले आक्रोस पोखे ।

‘लाखौ मानिस स्वदेश आउँदैछन्, उनीहरुको बारेमा कुनै चिन्ता अर्थमन्त्रीमा देखिएन,’ उनले भने ।

कोरोनापछि कृषि र साना उद्योगहरुलाई प्राथमिकता दिनुपर्छ भनेको मात्रै सुनेको तर शिक्षा र स्वास्थ्यको राम्रो व्यवस्था नगर्दासम्म गाउँमा रहेकाहरुलाई गाउँमै टिकाउन सकिन्न भन्ने तर्फ कसैको ध्यान नगएको उनले बताए ।

हरेक गाउँ गाउँमा कस्तो अस्पताल बनाउनु पर्छ, कस्तो आवश्यकता छ भन्ने लगायतको सम्पूर्ण योजना सहितको अध्ययन प्रतिवेदन २०७४ सालदेखि स्वास्थ्य मन्त्रालयमा थन्किएको तर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।

धेरै विद्धान र विज्ञहरुले धेरै मेहनेत गरेर बनाएको प्रतिवेदनलाई सरकारले एकपल्ट पनि पल्टाउने चेष्ट नगरेको भन्दै उनले दुःख व्यक्त गरे । नेपालका उद्योगहरुलाई निजीकरण गरिएको भन्दै विगतमा चर्को विरोध गर्ने सत्तारुढ दललाई अहिले सार्वजनिक उद्योगहरु खोल्न चुनौति पनि उनले दिए ।

उद्योगहरुलाई निजीकरण गरेर देशलाई बर्दाद पारियो भन्ने सत्तारुढ दललाई अहिले आफ्नो सरकारमार्फत उद्योग चलाउने आँट छ ? भनेर नेता थापाले प्रश्न गरे । उनले निजीकरण गरेको कारणले नभई अन्य कारणले नेपालका उद्योग धन्दाहरु धारासायी भएको बताउँदै यसलाई पुनर्उत्थान गर्नेतर्फ सरकारले यो अवसरलाई अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए ।

छलफलका लागि पेश गरिएको प्रस्ताव निवन्ध जस्तो भएको टिप्पणी गर्दै उनले सांसदहरुलाई अर्थमन्त्री खतिवडाले हेपेको आरोप लगाए ।

‘नयाँ बजेट बनाउँदा अहिलेको अवस्थाका बारेमा केही न केही तथ्यांकहरु प्रस्तुत गर्नुपर्दछ र त्यसका आधारमा सैद्धान्तिक छलफल गर्नुपर्ने हो, तर उनले सांसदहरुलाई केही थाहा छैन भन्ने ठानेर निवन्धजस्तो लेख्नु भएको छ,’  उनले भने ।

अर्थमन्त्रीको यो प्रस्तुतीले जति निराश बनाएको छ, उत्तिकै निराश उहाँले सार्वजनिक रुपमा दिने अभिव्यक्तिले पनि बनाउने गरेको नेता थापाको भनाइ छ । समकालिन विद्धानमध्ये सर्वाधिक विद्धवान र अनुभवी भनिएका अर्थमन्त्रीले पनि आशा जगाउन र नयाँ नयाँ योजनाहरु ल्याउन नसकेको भन्दै उनले चिन्ता व्यक्त  गरे ।


क्लिकमान्डु