नेपाल बंगलादेश बैंकको नाफा १४ प्रतिशतले घट्यो,सेयरधनीलाई बाड्ने नाफा २८ करोड



काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकको नाफा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १४ प्रतिशतले घटेको छ ।

एनबी बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले चैत मसान्तसम्ममा १ अर्ब रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब १४ करोड नाफा गरेको थियो । बैंकले चैत मसान्तसम्ममा सेयरधनीलाई बाड्न मिल्ने नाफा २८ करोड रुपैयाँ गरेको जनाएको छ ।

चैत मसान्तसम्ममा एनबी बैंकले ६३ अर्ब २९ करोड निक्षेप संकलन गरेको छ भने कर्जा ५९ अर्ब ८० करोड रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको चैत मसान्तसम्ममा बैंकमा ५९ अर्ब ७६ करोड रुपैयाँ निक्षेप रहेको थियो भने कर्जा ५२ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

बैंकले यो वर्ष चैत मसान्तसम्ममा ब्याज आम्दानीबाट २ अर्ब १४ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष ब्याज आम्दानीबाट २ अर्ब ११ करोड रुपैयाँ कमाएको थियो ।

चैत मसान्तसम्ममा बैंकको पूँजीकोष अनुपात १२.८८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको भन्दा यो वर्ष बैंकको खराब कर्जा अनुपात(एनपीएल) बढेको छ । यो वर्ष बैंकको चैत मसान्तमा एनपीएल २.७६ प्रतिशत रहेको छ,जुन अघिल्लो वर्ष १.८६ प्रतिशत रहेको थियो ।
कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो) ७५.०३ प्रतिशत रहेको छ जुन अघिल्लो वर्ष ७८.५० प्रतिशत रहेको थियो । बैंकको बेसरेट समेत अघिल्लो वर्षको भन्दा यो वर्ष घटेको छ । अघिल्लो वर्ष १०.६९ प्रतिशत रहेको बेसरेट यो वर्ष ९.८९ प्रतिशत रहेको छ । बैंकको स्प्रेडदर ४.८८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु