जनताको निक्षेप लिने बैंकिङ क्षेत्रले मात्र व्यवसायीलाई राहत दिन सक्दैनः ज्ञानेन्द्र ढुंगाना



काठमाडौ । नेपाल बैकर्स संघका पूर्वअध्यक्ष तथा नेपाल बंगालदेश (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले जनताको निक्षेप लिएर चल्ने बैंकिङ क्षेत्र एक्लैले व्यवसायीलाई राहत दिन नसक्ने बताएका छन् ।

व्यवसायीले व्यवसायीलाई राहत दिन सक्ने कुरा नहुने बताउँदै ढुंगानाले यसको लागि सरकारले नै प्याकेज ल्याउनुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाको कारण अर्थतन्त्रमा परेको असरको विषयमा उद्योग वाणिज्य क्षेत्रका व्यक्तिसँग गरेको छलफलमा बैकर्स संघका पूर्व अध्यक्ष ढुंगानाले बैंक जनताको पैसा लिएर चलेको हुँदा नोक्सानीमा जान नसक्ने बताए ।

‘हाम्रोपनि ब्याज आम्दानी घटेको छ,कमिसन र अन्य व्यवसायबाट हुने आम्दानी ६ महिनासम्म हुने देखिएको छैन,’ ढुंगानाले भने ।

उनले सरकारले पुनरकर्जाको सुविधाबाट सस्तो ब्याजदरमा ऋण दिन सक्ने बैंकले जनताको निक्षेप लिएको हुँदा सस्तो ब्याजदरमा ऋण दिन नसक्ने बताए । मुल्यबृद्धि अनुसार निक्षेपको ब्याजदर राख्नुपर्ने बाध्यता हुने ढुंगानाले बताए । त्यो नहुँदा निक्षेप नै नआउने सम्भावना हुन्छ ।

ढुंगानाले अर्थतन्त्रलाई खुल्ला गर्नुपर्ने बताए ।

विदेशी मुद्राको ठूलो स्रोत रेमिटेन्स र पर्यटन क्षेत्रको आम्दानी घटेपछि यसमा ठूलो चाप पर्ने र विश्वको अर्थतन्त्रमा संकटको अवस्था देखिएको हुँदा माग बढाउनेमा ध्यान दिनुपर्ने बताए ।

अबको दिनमा व्यवसायीलाई राहत दिनको लागि सावा ब्याज तिर्ने समयलाई पर सार्नुपर्ने र बैंकको पनि एनपीए नबढाउन ख्याल गर्नुपर्ने बताए ।

राष्ट्र बैंकले तेस्रो प्याकेज ब्याज पूँजीकरण र कर्जा पुनतालिकरण १ वर्षदेखि ३ वर्ष सम्मलाई गर्न उनले सुझाव दिए । बैंकले सस्तो ब्याजदरमा ऋण दिनको लागि खर्चहरु कटौती गर्न लगेको समेत उनले बताए ।


क्लिकमान्डु