८ अर्बको आइपीओ ल्याउन लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा २० प्रतिशतले बढ्यो
काठमाडौं । आठ अर्ब रुपैयाँको आइपीओ निष्काशन गर्ने तयारीमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २० प्रतिशतले नाफामा वृद्धि गरेको छ । गत आर्थिक वर्षको तेस्रो मसान्तसम्म ४९ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा ५९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको हो । चैत मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा ८५ करोड ९ लाख रुपैयाँ रहेको छ ।
बैंकद्धारा सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले सो अवधिमा २५ करोड निक्षेप संकलन गरी ५८ करोड २९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट बैंकले ९२ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
हाल १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ८ अर्ब रुपैयाँको आइपिओ निष्काशन गर्ने तयारी गरेको छ । चैत ममसान्तसम्म बैंकको जगेडा कोषमा १ अर्ब ४९ करोड रुपैयाँ सञ्चित छ ।
त्यसैगरी, सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५९ करोड ६४ लाख रुपैयाँ रहेको छ ।