२५ हजारले गरे कोरोना बीमा, १ करोड ३५ लाख प्रिमियम संकलन



काठमाडौं । कोरोना बीमा गर्नेहरुको संख्या २५ हजार पुगेको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईका अनुसार बैशाख ७ गतेदेखि शुरु भएको बीमा कार्यक्रमबाट हालसम्म १ करोड ३५ लाख रुपैयाँ प्रिमियत संकलन भएको हो ।

उनका अनुसार ३ सय र ६ सय रुपैयाँका २ खाले बीमा प्रडक्टबाट उक्त प्रिमियम संकलन भएको हो । ३ सय रुपैयाँको प्रिमियमबाट ५० हजार रुपैयाँ र ६ सय रुपैयाँको प्रिमियमले १ लाख रुपैयाँ बराबरको बीमा हुन्छ ।

चापागाईले कोरोनाका कारण बीमा क्षेत्रमा असर परेको उल्लेख गर्दै आगामी वर्षमा ठूलो असर पर्ने बताए ।

शुक्रबार आइक्यानले आयोजना गरेको भिडियो कन्फ्रेन्समा बोल्दै उनले यो वर्ष जीवन बीमा २०/२२ प्रतिशत र निर्जीवन बीमा २/३ प्रतिशतले बढ्ने आँकलन गरिएको बताए । कोरोनाका कारण जीवन बीमाको नयाँ प्रिमियम संकलन हुन नसकेकाले त्यसतर्फ आगामी दिनमा मिहेनत गर्नुपर्ने बताए ।

साथै कोरोनाले रोजगारीमा गर्ने कटौतीका कारण कृषि क्षेत्रमा सम्भावना धेरै देखिएको बीमा पनि कृषि क्षेत्रमा डाइभर्ट गर्नुपर्ने उनले सुझाव दिए । साथै उनले बीमा क्षेत्रले जीडीपीमा ३.४७ प्रतिशत योगदान दिने प्रक्षेपण गरिएको बताए ।

अध्यक्ष चापागाइले अब लघुबीमाको क्षेत्रमा पनि काम गर्न सकिने र त्यसतर्फ काम गर्नका लागि अहिले अध्ययन भइरहेको र त्यसको प्रतिवेदन पनि छिट्टै मन्त्रालयमा पेश गर्ने उनले जानकारी दिए ।

त्यसैगरी उनले आगामी दिनमा बीमा कम्पनीहरुले गर्ने लगानीलाई लिएर लगानी निर्देशिकालाई पनि अलिक फराकिलो बनाएर जाने बताए ।


क्लिकमान्डु