लकडाउन अवधिमा इन्टरनेट र विद्युत् महसुलमा छुट पाइने, असार मसान्तसम्म जरिवाना नलाग्ने



काठमाडौं । सरकारले लकडाउन अवधिभर इन्टरनेट र डाटा प्याकेजमा २५ प्रतिशत निर्देशन दिएको छ ।

बैशाख १४ गते मन्त्रिस्तरको निर्णय अनुसार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले दिने इन्टरनेट र डाटामा २५ प्रतिशत छुट दिन निर्देशन दिएको छ । साथै निजी कम्पनीहरुलाई पनि सोही अनुसार छुट दिन व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सरकारले यसअघि गरेको सोही निर्णयलाई लकडाउन अवधिभर लागू गर्न निर्देशन दिएको हो ।

त्यसैगरी सरकारले विद्युत महसुलमा पनि छुट दिने निर्णय गरेको छ । सरकारले विद्युत प्राधिकरणले १५० युनिटसम्म विद्युत उपभोग गर्नेको हकमा २५ प्रतिशत छुटलाई निरन्तरता दिने र २५० युनिट उपभोग गर्नेको हकमा १५ प्रतिशत छुट दिन प्राधिकरणलाई निर्देशन दिएको छ ।

साथै लकडाउन अवधि बन्द रहेका उद्योगहरुको डिमान्ड शुल्क छुट वा सहुलियत दिन प्राधिकरणलाई आवश्यक व्यवस्था गर्न भनेको छ ।

त्यसैगरी मागभन्दा बढी उत्पादन भइ बचत हुने विद्युत प्राधिकरणले तोकेको अवधि र समयमा उपयोग गर्ने उत्पादनमुलक उद्योग प्रतिष्ठानहरुलाई सो अवधिमा खपत गरिएको विद्युत महसुलमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्थालाई लकडाउनको अवधिभर निरन्तरता दिन निर्देशन दिएको छ ।

साथै विद्युत, खानेपानी, टेलिफोन तथा इन्टरनेटको शुल्क फागुनदेखि जेठ महिनासम्मको महसुल भुक्तानी २०७७ असार मसान्तसम्म बुझाएमा विलम्ब शुल्क लाग्ने जरिवाना तथा अतिरिक्त शुल्क छुट दिने व्यवस्था मिलाउन भनेको छ ।


क्लिकमान्डु