धरौटी बुझाएर छुटे लगत्तै फेरि पक्राउ परे सुलभ अग्रवाल
काठमाडौं । धरौटी बुझाएर छुटेका व्यवसायी सुलभ अग्रवाल फेरि पक्राउ परेका छन् ।
कालोबजारी सम्बन्धि मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटे लगत्तै महानगरीय प्रहरी परिसरले पक्राउ गरिएको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
‘सम्पत्ति शुद्धिकरण विभागको पत्र अनुसार पक्राउ गरिएको हो, बाँकी कारबाही विभागले नै गर्छ,’ उनले भने ।
उनलाई सम्पत्ति शुद्धिकरणसम्बन्धि विषयमा छानबिन गर्नुपर्ने भएकाले प्रहरीले पक्राउ गरेको हो । उनलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइएको छ ।
विभागले सम्पत्ति शुद्धिकरणको विषयमा हाइप्रोफाइल व्यवसायीलाई पक्राउ गरेको यो पहिलो पटक हो । विभाग अहिले प्रधानमन्त्री कार्यालय मातहत छ ।
यसअघि अग्रवाल लकडाउनको समयमा थर्मल गनको कालोबजारी गर्दा पक्राउ परेका थिए ।