नेपाल पर्यटन बोर्डले लकडाउन खुले लगत्तै १८ सयलाई रोजगारी दिने
काठमाडौं । नेपाल पर्यटन बोर्डले लकडाउन खुले लगत्तै १८ सय जनालाई रोजगारी दिने भएको छ ।
कोभिड–१९ को पर्यटन क्षेत्रमा पारेको असरका कारण ठूलो जनशक्ति बेरोजगार हुनु परेको अवस्थामा अति प्रभावित मजदुरहरुलाई रोजगारी दिन थालिएको हो ।
बोर्डका सीईओ धनञ्जय रेग्मीले लकडाउन खुले लगत्तै १८ सय जनालाई रोजगारी दिने तयारी भएको जानकारी दिए ।
‘अहिले लकडाउनको समय भएकाले हिमालतर्फ जान सकिएको छैन, लकडाउन खुलेको भोलिदेखि नै रोजगारी दिन सकिन्छ,’ उनले भने । उनका अनुसार ती मजदुरहरुलाई हिमाल सरसफाइका लागि लगाइनेछ ।
रेग्मीका अनुसार युएनडीपीले १ हजार जनाका लागि र पर्यटन बोर्डले ८ सय जनाका लागि रोजगारी दिनका लागि बजेट छुट्याइसकेको छ । उनका अनुसार सबै सम्झौता भइसकेको र सम्बन्धित निकायबाट अनुमति पाएपछि रोजगारी दिइनेछ ।