ज्योति लाइफ इन्स्योरेन्सको बीमा शुल्क ९७ प्रतिशतले वृद्धि



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको १ अर्ब १४ करोड रुपैयाँ बीमा शुल्कमा आर्जन गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको तुलनामा ९७ प्रतिशतले बीमा शुल्क वृद्धि गरेको हो । लकडाउनको अवधिमा नै कम्पनीले वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले अल्पकालीन लगानी घटाई दीर्घकालीन लगानीलाई प्राथमकिता दिएको कारणले दीर्घकालीन लगानी ८३ प्रतिशतले वृद्धी भएको छ भने अल्पकालीन लगानीमा ५८ प्रतिशतले गिरावट आएको छ ।

व्यवस्थापन खर्चमा भएको वृद्धीको बावजुद कम्पनीले खुद नाफामा समेत १४ प्रतिशतले सुधार गर्दै ११.५१ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ भने नाफाको रकम बीमांकीय मूल्याङन पश्चात परिवर्तन हुन सक्नेछ ।

व्यवसाय तथा बीमितको संख्या वृद्धिसंगै कम्पनीको दाबी भुक्तानी रकम पनि १३६ प्रतिशतले वृद्धी भइ दाबीवापत ८९.५९ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ ।

व्यवसाय तथा लगानी वृद्धि, सञ्चालन खर्चमा सन्तुलनलगायतको कारणले कम्पनीको तेश्रो त्रैमासमा जगेडा कोषमा समेत ८३ प्रतिशतले वृद्धि भइ ३७.३९ रुपैयाँ करोड कायम हुन गएको देखिन्छ भने जीवन बीमा कोषमा १९१ प्रतिशतले वृद्धि भइ १ अर्ब ४० करोड रुपैयाँ रहेकोे देखिन्छ ।

कम्पनीको वित्तीय विवरण अध्ययन गर्दा दीर्घकालीन लगानीको अनुपात बढी रहेको र वित्तीय बजारमा निक्षेपको ब्याजदरमा कमी आएता पनि कम्पनीको नाफा आगामी दिनमा समेत सन्तुलित हुने विश्लेषण गर्न सकिन्छ ।


क्लिकमान्डु