कोरोनाको कारण सबैभन्दा बढी असर होटलमा, विद्युतीय क्षेत्र फाइदामा



काठमाडौं । कोरोना भाइरसको कारण नेपाली अर्थतन्त्रमा सबैभन्दा बढी असर होटल क्षेत्रमा पर्ने देखिएको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार होटल क्षेत्रमा ऋणात्मक बृद्धिदर हुने छ । होटल तथा रेष्टुरेन्ट क्षेत्रमा १६.३० प्रतिशतले ऋणात्मक हुने छ ।

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा २.२७ प्रतिशत आर्थिक बृद्धिदर हुने जनाएको छ । लगातार ३ आर्थिक वर्षमा ६ प्रतिशतको बृद्धिदरपछि नेपाली अर्थतन्त्र कोरोना भाइरसको कारण खुम्चेको हो । सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएको थियो । कोरोना भाइरस नआएको भएपनि आर्थिक बृद्धिदर भने ६ प्रतिशत हाराहारीमा मात्र हुने थियो ।
केन्द्रीय तथ्यांक विभागले कोरोना भाइरसको असर लम्बिएमा अर्थतन्त्रमा अझै असर पर्ने देखाएको छ । यसको मतलब आर्थिक बृद्धिदर अझै कमी आउन सक्छ ।

कोरोनाको कारण नै अहिलेसम्म नै ऋणात्मक भएका क्षेत्रमा होटल तथा रेष्टुरेन्टसँगै,उद्योग,खानी र यातायात क्षेत्र हो । अन्य क्षेत्रमा अहिलेसम्मको स्थितीमा ऋणात्मक हुने अवस्था छैन । तर,लकडाउन लम्बिएमा अन्य क्षेत्र समेत ऋणात्मकमा जाने छ ।

तथ्यांक विभागका अनुसार जीडीपीको आकारमा हेर्दा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा ९ अर्ब १५ करोड रुपैयाँ अघिल्लो वर्षको तुलनामा आकार घटेको छ । अघिल्लो वर्ष जीडीपीमा ५६ अर्बको रुपैयाँको भ्यालु होटल तथा रेष्टुरेन्टको थियो । यो वर्ष यो घटेर ४६ अर्बमा पुगेको छ । जीडीपीको आधारमा १ अर्ब रुपैयाँ ट्रान्सपोर्ट क्षेत्रमा घटेको छ । अघिल्लो वर्ष जीडीपीमा ट्रान्सपोर्ट क्षेत्रको आकार २२ अर्ब थियो यो वर्ष २१ अर्बमा झरेको छ ।

यस्तै उद्योग क्षेत्र १ खर्ब ७२ अर्ब रुपैयाँबाट १ खर्ब ७० अर्ब रुपैयाँमा झरेको छ ।


क्लिकमान्डु