सहकारीकर्मीको गुनासोः सरकारी निकायको दोहोरो अभिव्यक्तिले सदस्यलाई सेवा दिन पाएनौं



काठमाडौं । सहकारीकर्मीहरुले सरकारको दोहोरो अभिव्यक्तिका कारण कारण लकडाउनको अवधिमा सहकारी संस्थाले सदस्यलाई सेवा दिन नपाएको गुनासो गरेका छन् ।

सहकारी विभाग र बाग्मती प्रदेशका सहकारी मन्त्रालयले सहकारी संस्था खोलेर सदस्यलाई सेवा दिनु भन्ने तर गृह प्रशासनको अवरोधका कारण सेवा दिन समस्या भएको उनीहरुको तर्क छ ।

विभागले परिपत्र नै गरेर सहकारी संस्था खोलेर सदस्यलाई सेवा दिनु भनेपनि गृह प्रशासनले आवत जावतमा अवरोध गरेका कारण सदस्यलाई आवश्यक सेवा दिन समस्या भएको बताएका हुन् ।

जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल भने ‘सरकारले बन्द गर्न भनेको छ । सहकारी विभागले पूर्ण रुपमा खोल्नु पर्छ भन्छ, बाग्मती प्रदेशले ३ खोलेर सेवा दिनु भन्छ, कसको निर्णय मान्ने भन्नेमा अन्योलता भएको छ ।’ विभागको निर्णय मान्ने वा सरकारको निर्णय मान्ने अन्योलताका बीचमा पनि सम्पर्क व्यक्ति तोकेर घर घरमा नै सेवा दिइरहेको उनको भनाई छ ।

अहिले सहकारी संस्थाहरुले कुनै न कुनै रुपमा सदस्यको हितमा काम गरेको बताए । अहिले सहकारीहरुले सम्पर्क व्यक्ति तोकेर घरघरमा नै गएर सेवा दिएको बताए । अहिले खातामा पैसा नभएपनि सदस्यहरुलाई १०, १५ हजार ऋण लिन आउनु भनेर सूचना नै जारी गरेको बताए ।

अहिले कोरोनाको त्रास भएपनि लकडाउन खुलेपछि सहकारी संस्था कसरी चलाउने भनेर त्रास कामयै रहेको उनको भनाई छ । यतिबेला कोरोनाको त्रासका कारण उपत्यका बाहिर गएका कर्मचारी घरमा गएको र उनीहरु नफर्केमा समस्या हुने उनको बुझाई छ ।

अध्यक्ष दुलालका अनुसार अहिले केही सहकारी संस्थामा तरलता ३०, ३२ प्रतिशत राखेर ढुक्क भएका छन् । उनले भने ‘उपत्यकामा रहेका ३०, ३५ वटा सहकारीले सेवा दिन सकेनन् भने तरलता राखेका सहकारीमा पनि समस्या हुनसक्छ ।’
जिल्ला संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङले विभागले परिपत्रको नाममा परिपत्र मात्रै जारी गरेको र संघहरुसँग कुनै छलफल नै नगर्दा समस्या भएकोे बताए ।

अहिले सहकारी संस्थाहरुले सदस्यलाई सेवा दिन जाँदा दिनभरी प्रहरीले समातेर राख्ने समस्या बढेको भन्दै यसको बिकल्प निकाल्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

तरलता व्यवस्थापन गर्न सहकारी बैंक लगायत वित्तीय कारोबार गर्ने निकायसँग छलफल गर्ने, महासंघबाट सरकारसँग छलफल गर्ने योजना रहेको उनको भनाई छ ।

प्रदेश सरकारको सूचना, विभागको परिपत्र समस्या भएको भन्दै यो समस्याको समाधान गर्न पनि उनले आग्रह गरे ।

जिल्ला संघ भक्तपुरका अध्यक्ष केदार खडकाले सरकारी निकायको आन्तरिक समन्वय नहुँदा सहकारी संस्थालाई काम गर्न समस्या भएको बताए ।


क्लिकमान्डु